काठमाडौं, १२ साउन ।
गोरखाको उत्तरी भेगका भूकम्प पीडितका लागि चामल ढुवानी गर्दा प्रतिकिलो ८३ रुपैयाँ खर्च भएको देखिएको छ ।
सामागाउँ गाविसका सचिव वेद प्रकाश ढकालका अनुसार लमजुङमा खरिद गरेर मनाङको धारापानी, भिमथाङ हुँदै लार्केपास गरेर सामागाउँ र ल्हो गाविसमा खाद्यान्न लगायतका सामग्री लगिएको हो ।
लमजुङ सदरमुकाम बेसिशहरबाट धारापानी सम्म एक किलो चामल गाडीमा ढुवानी गर्न साढे ८ रुपैयाँ र त्यहाँबाट खच्चडमा बोकाएर र्पुयाउन ७५ रुपैयाँ लागेकोले खर्च बढेको सचिब ढकालले बताउनुभयो ।
सरकारले पहिलो चरणमा दिएको नौ लाख रुपैयाँ मध्ये सामागाउँ गाविसका लागि दुई लाख ७८ हजार रुपैयाँको चामल किनेपनि बाँकी रकम ढुवानीमै सकिएको उहाँले बताउनुभयो ।
सरकारले भूकम्प प्रभावित गाविसमा राहत सामग्री खरिदका लागि भन्दै भूकम्प गएको दोस्रो हप्तामै दिएको नौ लाख रुपैयाँबाट राहत सामग्री ढुवानी भएको हो । विश्व खाद्य कार्यक्रमले पनि खच्चडबाट बोकाएर मनाङ हुँदै लार्केपास गरेर राहत ढुवानी गरिरहेको छ ।
गोरखाको आरुघाट हुँदै उत्तरी गोरखामा राहत लैजाने एकमात्र बाटो मनास्लु पदमार्गको विभिन्न ठाउँमा पहिरो जाँदा बाटो अवरुद्घ भएकाले जनजीवन कष्टकर बनेकोे छ ।