काठमाडौं,१२ साउन ।
यातायात व्यवस्था कार्यालयले सवारी साधनको तेस्रो पक्ष बिमा अनिवार्य गर्न मातहतका कार्यालयलाई पुन निर्देशन दिएको छ । कार्यालयले तेस्रो पक्ष बिमा कार्यान्वयन गर्न दिएको यो निर्देशन आठौं पटक हो ।
कार्यालयले पछिल्लो पटक गत जेठ २७ मा एक सुचना पत्र जारी गर्दै मुलुकभरका आफ्ना कार्यालयलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार बिमा अनिवार्य गर्न निर्देशन दिएको थियो ।
पत्रमा‘कुनै पनि सवारी साधनको तेस्रो पक्ष बिमा नगरीरनगराई नामसारी, जाँचपास, दर्ता, नवीकरण लगायतका कुनै पनि कार्य नगर्नरनगराउन’ निर्देशन दिइएको छ ।
विभागले २०६५ साल साउन १ गते पहिलो पटक ऐनअनुसार तेस्रो पक्ष बिमा अनिवार्य लागू गर्न मातहत कार्यालयलाई निर्देशन दिएको थियो । साना तथा ठूला सवारी र मोटरसाइकल कार्यालयका देशभरका कर्मचारीले निर्देशन बेवास्ता गर्दै आएका थिए ।
‘यस पटक ऐनअनुसार काम नगर्ने कर्मचारीलाई विभागीय कारबाही हुन्छ,’ विभागका महानिर्देशक मधुसूदन बु्रर्लाकोटीले भने, ‘यसबारे हामीले पत्रमा प्रस्ट लेखेर पठाइसकेका छौं ।’
विभागको पत्रमा भनिएको छ, ‘ऐन, नियममा प्रस्ट व्यवस्था भएबमाजिम सरकारी, निजी, सार्वजनिक, संस्थान, कूनीतिकलगायत सबै प्रकारका सवारी साधन दर्ता, नामसारी, नवीकरणलगायत कार्य गर्दा तोकिएबमोजिम बिमा गर्नु अनिवार्य व्यवस्था छ ।’
विभागले पत्रमा कर्मचारीले ऐन, नियमअनुसार कार्यसम्पादन नगरेको पनि उल्लेख गरेको छ । ‘त्यस्तो थाहा पाए भने विभागमा खबर गरे हुन्छ,’ महानिर्देशक बु्रर्लाकोटीले भने, ‘हामी कारबाही गर्नेछौं ।’ हरेक वर्ष नवीकरण गर्दा तेस्रो पक्ष बिमा हुनु आवश्यक रहेको विभागले जनाएको छ ।
बुर्लाकोटीले भने, ‘दुर्घटना हुँदा वा गर्दा बिमा कम्पनीले बेहोर्छ । नत्र दुर्घटना गरेपछि आर्थिक समस्याका कारण चालक गाह्रोमा पर्छन् ।’ उनले विभागले अब नवौं पटक पत्र नपठाई सीधै सम्बन्धित कार्यालय प्रमुख एवं कार्यसम्पादनमा संलग्न कर्मचारी नै जवाफदेही हुनुपर्ने तथा त्यसो भएको जानकारी प्राप्त भए विभागबाट समेत आवश्यक कारबाही हुने बताए ।