काठमाडौं ,११ साउन ।
नयाँ संविधानको मस्यौदामा जनताबाट आएको रायसुझाव समेटी तयार पारीएको एकीकृत प्रतिवेदन आज बुझाइने भएको छ ।
नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आज संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई भेटी प्रतिवेदन बुझाउने जनाएको छ ।
पचत्तरै जिल्लामा खटिएका सभासद्सहितको टोलीले जनताका सुझावसहितको प्रतिवेदन समितिलाई बुझाइसकेको छ । ती सबैलाई एकीकृत गरी समितिले अन्तिम प्रतिवेदन तयार पारेको छ ।
भोली बस्ने संविधानसभाको बैठकमा जनताको सुझावसहितको प्रतिवेदन पेस गर्ने तयारी छ । प्रतिबेदनमाथि बैठकमा छलफल गरी परिमार्जनका आधार तयर गर्न बाबुराम भट्टराई अध्यक्ष रहेको राजनीतिक, संवैधानिक तथा सम्वाद समितिमा पठाइने छ ।
छोटो समयमा समितिले छलफल टुंग्याएर संविधानसभामा पेस गर्नुपर्नेछ। त्यसलाई संविधानसभाले मस्यौदा समितिमा पठाउने छ।
जनताबाट आएको सुझावसहितको प्रतिवेदन प्राप्त भएपछि मस्यौदा समितिले पहिले तयार भएको मस्यौदामा परिमार्जन तथा सुधार गरी नयाँ संविधानको विधेयक तयार गर्नेछ। त्यसलाई फेरि संविधानसभामा पेस गरिने छ ।