काठमाडौं, ९ साउन ।
नेपाल राष्ट्र बैंकले वित्तीय स्थायित्व अभिवृद्धि गर्न अवलम्बन गरिएकोे मर्जर नीतिको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने भएको छ ।
बैंक तथाद वित्तीय संस्था एकापसमा ‘मर्जर’ सम्बन्धी विनियमावली, २०६८ कार्यान्वयनमा आएपछि बैंक तथा वित्तीय संस्था सबल बन्दै गएकाले त्यसलाई अझै प्रभावकारी बनाउन लागेको हो ।
बैंक तथा वित्तीय संस्थालाई एकापसमा गाभिन थप प्रोत्साहन गरिने र सबल र सक्षम वित्तीय क्षेत्रको विकासका लागि पुँजी वृद्धि गर्ने नीति लिएको राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बताउनुभयो ।
मर्जरको नीति कार्यान्वयनमा आएपछि बैंक तथा वित्तीय संस्थाका सङ्ख्या कमी आएको छ तर शाखा विस्तारमा भने वृद्धि हुँदै गएको छ । विसं २०७२ असार मसान्तसम्म ७८ वटा बैंक तथा वित्तीय संस्थाहरू एकापसमा मर्ज भई ३० वटा संस्था बनेका छन् ।
आव ०७१र७२ मा एक वाणिज्य बैंक, १० विकास बैंक र चार वित्तीय कम्पनी मर्ज भई एक वाणिज्य बैंक, चार विकास बैंक र एक वित्त कम्पनीमा परिणत भएका छन् । त्यस्तै पाँचवटा ग्रामीण विकास बैंक मर्ज भई बनेको नेपाल ग्रामीण विकास बैंक लिमिटेडले कारोबार सुरु गरेको छ ।