काठमाडौ, २९ असार । पछिल्लो एक वर्षमा सेयर बजारमा उल्लेख्य सुधार आएको तथ्यांकले देखाएको छ ।
अर्थ मन्त्रालयले सार्वजानिक गरेको आर्थिक सर्वेक्षण अनुसार एक वर्षको अवधिमा नेप्से परिसूचक १ सय ९५ अंकले बढेको हो । २०७० को फागुन मसान्तमा ७ सय ८३ दशमलव ७९ अंक रहेको नेप्से परिसूचक २०७१ फागुन मसान्तमा २४ प्रतिशतले बढेर ९ सय ७८ दशमलव ४४ अंकमा पुगेको छ ।
यस्तै सूचीकृत कम्पनीको विकास र लगानीकर्ताको सेयर प्रतिको आकर्षणका कारण पुँजी बजारमा वर्षेनी ठूलो पुँजी थपिने गरेको छ । पछिल्लो आठ महिनामा मात्रै ३० वटा संगठित संस्थाले साधारण, हकप्रद र डिबेञ्चर गरी ८ अर्ब ८९ करोड ३१ लाख रुपैयाँ बराबरको धितोपत्र निष्काशन गरेको सर्वेक्षणमा उल्लेख छ ।
यस वर्षको फागुन महिनासम्ममा निष्काशन भएको धितोपत्रको रकम गत वर्षको फागुन महिनाको भन्दा ७४ दशमलव ४१ प्रतिशतले बढी रहेको छ ।