काठमाण्डौ, २७ असार ।
दक्षिण कोरियाको ग्वाङ्जुमा जारी २८औँ समर युनिभर्सियाड गेम–२०१५ मा नेपाली टोलीको पदकविहीन यात्रासँगै सबै चुनौती समाप्त भएको छ ।
प्रतियोगिताको आइतबार ११औँ दिन टेबलटेनिस र तेक्वान्दो खेलाडीले पराजय भोगेसँगै नेपालको चुनौती समाप्त भएको हो ।
टेबलटेनिसका दीप साउद र तेक्वान्दोकी निमा गुरुङ दुवै पराजित भएका छन् । तेक्वान्दोतर्फ महिलाको ५३ केजीमुनि निमा कोलम्बियाकी पेड्रोजो इरिक सेसिलियासँग ५–१८ ले पछि पर्दै पराजित भइन् ।
त्यस्तै, टेबलटेनिसको पुरुष एकलमा राष्ट्रिय च्याम्पियन दीप नकआउट चरणको पहिलो खेलमा भेनेजुएलाका कोरिए फिग्युरोसँग ८–११, ५–११, ११–६, ७–११ र १२–१४ ले पराजित भए ।
टेबलटेनिस र तेक्वान्दोसहित विभिन्न ७ खेलमा नेपालबाट १९ खेलाडीले सहभागिता जनाएका थिए । लनटेनिस, आर्चरी, फेन्सिङ, पौडी र ब्याडमिन्टनबाट नेपाली खेलाडी यसअघि नै बाहिरिइसकेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेपका अनुसार दुई वर्षको अन्तरालमा हुने युनिभर्सियाडमा नेपालले योपटक सहभागिता जनाएको खेल र खेलाडी संख्या अहिलेसम्मकै बढी हो ।