काठमाडौं, २५ असार । नेपाललाई सन् २०१५ भित्र पूर्ण साक्षर घोषणा गर्ने सरकारको लक्ष्य पूरा नहुने देखिएको छ ।
गत बैशाख १२ को विनाशकारी भूकम्पका कारण कक्षा संचालनमा अवरोध पुगेकाले लक्ष्य पूरा नहुने सम्भावना देखिएको अनौपचारिक शिक्षा केन्द्रका उपनिर्देशक विष्णुप्रसाद मिश्रले बताउनुभयो ।
सरकारले आर्थिक वर्ष ७१। ७२ लाई निरक्षरता उन्मूलन वर्ष घोषणा गरेसँगै साक्षरता कक्षा सञ्चालन गरेको थियो । भूकम्पपछि गोरखा, दोलखा लगायतका प्रभावित क्षेत्रमा साक्षरता कक्षा संचालन गर्न समस्या भएको उपनिर्देशक मिश्रको भनाई छ ।
उहाँका अनुसार भूकम्पबाट कम प्रभावित तराईका जिल्लामा कक्षा सञ्चालन भैरहेपनि सहभागिता कम रहेको छ । सरकारले हालसम्म ललितपुर, सिन्धुपाल्चोक, चितवन, पाल्पा, स्याङजा, मुस्ताङ, धादिङ, सुर्खेत, अर्घखाँची, प्यूठान तथा दाङ सहित ११ जिल्लालाई पूर्ण साक्षर घोषणा गरिसकेको छ ।
यस्तै गुल्मी, तनहुँ, कास्की, नवलपरासी, रुपन्देही र पाँचथर जिल्लालाई पनि छिट्टै नै पूर्ण साक्षर घोषणा गर्ने सरकारको तयारी छ । ९५ प्रतिशत साक्षर भएको जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिदै आएको छ ।