काठमाडौं, २५ असार ।
भूकम्पपछि ठप्प रहेको मेलम्ची खानेपानी आयेाजनाको सुरुङ निर्माण सुचारु भएको छ ।
अहिले दैनिक २० मिटर सुरुङ खन्न सुरु भएको र तीव्र गतिमा काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख घनश्याम भट्टराईले कामदारहरू काममा फर्केको र सुरुङ निर्माण भइरहेको बताए । यद्यपि आयोजनाले लक्ष्य लिएजति गति नलिएको उनको भनाइ छ ।
सरकारले दैनिक ४० मिटर सुरुङ खन्ने लक्ष्य राखेको भन्दै भट्टराईले भूकम्पले गर्दा काम गर्न नसकेको बताए । ‘काम सुचारु भएको छ, भूकम्पले गर्दा काम अस्तव्यस्त भयो,’ उनले भने, ‘तीव्र गतिमा काम बढाउन ठेकेदारलाई निर्देशन दिइसकेका छौं ।
‘ तर, निर्धारित समयमा उपत्यकामा पानी झार्नेबारे भने उनले आशंका व्यक्त गरे । सिन्धु अडिट, सुन्दरीजल र टिम्बुलगायतका स्थानबाट सुरुङ खन्ने काम भइरहेको जानकारी दिँदै उनले अन्य स्थानबाट पनि सुरुङ खन्ने बताए ।
सरकारले २०७३ वैशाख १ गते उपत्यकामा पानी झार्ने घोषणा गरिसकेको छ । तर, हालसम्म १२ किलोमिटर मात्र सुरुङ खनिएको छ भने, अझै १५ किमि मुख्य सुरुङ खन्न बाँकी छ । प्रमुख भट्टराईले चट्टानले गर्दा सिन्धु अडिटबाट मुख्य सुरुङ खन्ने काममा ढिलाइ भएको बताए ।
रातदिन काम गरेर भए पनि दैनिक ४० मिटरभन्दा बढी सुरुङ खन्ने उनको दाबी छ । तीव्र गतिमा काम अघि बढे १० महिनाभित्र राजधानीवासीले मेलम्चीको पानी पिउने उनले दाबी गरे ।
केही मेसिन ल्याउन बाँकी रहेको पनि उनले बताए । करिब डेढ वर्षअघि इटालियन कम्पनी सीएमसीले नयाँ ठेक्का पाएको हो । तर, दक्ष कामदार, उपकरणलगायत अभाव देखाउँदै ठेकेदारले काममा ढिलासुस्ती गरेको छ ।
ग्यालथुङ अडिटको माथिल्लो र तल्लो, सिन्धु अडिटको माथिल्लो र तल्लो तथा सुन्दरीजल गरी करिब पाँच किमिभन्दा बढी सुरुङ खनिसकिएको छ ।
केही दिनभित्रै अम्बाथान अडिटबाट पनि काम सुचारु गरिने भट्टराईको भनाइ छ । राष्ट्रिय गौरवका आयोजनामध्ये सरकारले यसलाई पहिलो प्राथमिकतामा राखेको छ । कान्तिपुरमा खबर छ ।

