‘भिजन’ अथवा दूरगामी शोच कुनै पनि राष्ट्र वा संस्थाको लागि भविश्यमा पुग्ने गन्तव्यको लागि मार्गदर्शन हो । आशा हो । यसले कडा भन्दा कडा संघर्ष गरेर भएपनि गन्तव्यमा पुग्नको लागि उत्प्रेरणा प्रदान गर्दछ, साहस प्रदान गर्दछ ।
वास्तविक भिजनलाइ अनुभूत गर्न मिल्छ । अनुभूत गर्न नमिल्ने भिजन मोटा मोटा प्रतिवेदनका पानाहरुमा थिचिएरै मर्छ । यस्तो भिजन केवल अफिसका भित्ता भित्तामा क्यालेन्डर संगै झुन्डिन्छ र बिना कुनै उपयोग धमिराले खाएर
सिद्धिन्छ । राष्ट्र र जनताको जीवनमा यसले कुनै योगदान दिदैन । वास्तविक भिजन त आम जनताको मन मस्तिष्क र मुटुमा डेरा जमाएर बस्छ अनि निरन्तर त्यसको प्राप्तिको दिशामा अग्रसर हुन प्रेरित गरिरहन्छ। भिजन त बिपनामा प्राप्त हुने सपना हो । भिजनले चलन चल्तिको भन्दा फरक किसिमले सोच्न र फरक बाटो हिड्न उत्प्रेरित गर्छ र यसो गर्दा आइपर्ने सानातिना बाधा-व्यवधानहरु सहजै झेल्न सक्ने शाहस जुटाइदिन्छ । भिजनले अहिले के छ भनेर होइन बरु के हुनुपर्छ भनेर भन्दछ । कस्तो भिजनले डोर्याएको छ भन्ने कुराले कुनै पनि राष्ट्रको समृद्धी र उन्नतीलाइ निर्धारण गर्दछ । भिजन समाजले जान सक्ने बाटोमा राखेको ‘साइनपोस्ट’ मात्रै हो तर जरूरी छैन की समाज त्यही
साइनपोस्ट हेर्दै अगाडी बढ्ला । यसको लागि भिजन बनाउने र समाजलाइ त्यसतर्फ डोर्याउन सक्ने ‘भिजनरी नेता’ को आवश्यकता पर्दछ । जुन देशले जति छिटो र जति धेरै भिजनरी नेता पायो त्यो देशले उति नै छिटो र उति नै धेरै
प्रगति हासिल गरेको छ ।
सन् २००६ मा नोवेल पुरुस्कार विजेता अर्थशास्त्री अमर्त्य सेनले भारतको गहुँ उत्पादनको सम्वन्धमा लेखेका थिए :‘अहिले भारतको खाध्य संस्थान सित स्टक भएको गहुँको बोराहरुलाइ एकको माथि अर्को गरी चाङ लगाउदै जाने हो भने त्यो पृथ्वी देखि चन्द्रमा र चन्द्रमा देखि पृथ्वी सम्म पुग्नेछ ।’ तर यो त्यही भारत हो जहाँ सन् १९६० को दशकमा अमेरिकाबाट आयात गरिएका गहुँले भरिएका जहाँजहरुले भारतीय बन्दरगाहरुमा ट्राफिक जाम हुने गर्दथ्यो । खाद्य संकट टार्न प्रधानमन्त्री लाल बहादुर शास्त्रीले ‘हप्ताको एक छाक ब्रत बस्ने’ भनेर गरेको आव्हानलाइ पत्र-पत्रीकाहरुमा ‘आज भोकै बस्ने दिन‘ भनेर हेडलाइन छापिन्थ्यो । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि हेर्ने संस्था एफ.ए. ओ. ले सन् १९६१ मा ५ वर्ष पछी भारतको जनसंख्या वृद्धीदरले कृषिको बृद्धीदर लाइ माथ गर्ने र भारतले भयानक भोकमरीको समस्या झेल्नुपर्ने भन्दै सचेत गराउने खालको प्रतिवेदन दियो । नभन्दै सन् १९६५ र १९६६ मा भारतले ठुलै भोकमरीको समस्या झेल्नु पर्यो । यस्तो बिषम परिस्थीतिमा खाद्य सहयोग उपलब्ध गराउदै आइरहेको
अमेरिकाले भियतनाम संगको राजनीतिक मुद्दामा भारतको फरक बिचार भएको कुरालाइ निहु बनाएर सहयोग कम गर्ने निर्णय गर्यो । यस्तो दुर्दशाको समयमा खाद्य तथा कृषि मन्त्रालयको जिम्मेवारी भिजनरी नेता चिदम्बरम सुब्रमन्यमको हातमा आयो । उनले जिम्मेवारी सम्हाले लगत्तै “दशौं माइल टाढाबाट आउने सहयोग स्वरुप प्राप्त खाद्यान्नको भरमा भारतको भोकमरी टार्न खोज्ने प्रयास गर्नु राष्ट्रको लागि सबैभन्दा ठूलो दुर्भाग्य हो’ भन्दै प्रसिद्ध कृषि वैज्ञानिक एम.एस. स्वामीनाथन र शान्ती नोबेल पुरुस्कार बिजेता नोर्मान बोरलगको सहयोगमा ‘कृषिमा प्रविधीको प्रयोग’ नामक कार्यपत्र राष्ट्र सामु पेश गरे । उनको यो प्रस्तावलाइ त्यहाको राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले अस्विकार गरिदियो । यसका साथै उच्च उत्पादन हुने गहुँको बिंउ भारत भित्र्याउदा कृषिमा नयाँ किसिमको रोग भित्रिनसक्ने भन्दै थुप्रै कृषि वैज्ञानीकहरुले पनि उनको यस प्रस्तावको चर्को बिरोध गरे । तर मन्त्री चिदम्बरम आफ्नो यस कदमबाट पछि हटेनन् र मेक्सिकोबाट १० हजार टन उच्च उत्पादन हुने गहुँको बिंउ आयात गरेर गहुँको खेति अगाडी बढाए । अहिले भारत गहुँ उत्पादन गर्ने विश्वकै दोस्रो ठुलो राष्ट्र भएको छ भने चिदम्बरमको उक्त कार्य ‘भारतको हरितक्रान्ति’ को नामले प्रशिद्ध छ । राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले अस्विकार गरिदिएको त्यही कार्यपत्र (भिजन) ले नै अहिले भारतलाइ खाद्यान्नमा पूर्ण आयात गर्ने राष्ट्रबाट पूर्ण निर्यात गर्ने राष्ट्र बनाइदिएको छ ।
भिजनरी नेताहरुले कसरि चलनचल्तीको भन्दा फरक बाटो रोज्छन्, कसरि उपयुक्त व्यक्तिको छनौट गर्छन् र कसरि निर्यण लिन्छन् भन्ने उदाहरणको लागि चिदम्बरमकै सम्बन्धमा अर्को रोचक प्रसंग छ । भारतको ‘राष्ट्रिय दुग्ध बिकास
बोर्ड’ को स्थापना गर्नेताका बोर्डको केन्द्रिय कार्यालय दिल्लीमा रहने, यसको अध्यक्ष खाद्य तथा कृषि मन्त्रि रहने र उपाध्यक्षमा अर्को कुनै राजनीतिज्ञ वा कर्मचारीहरुमध्येबाट छनौट गर्ने व्यवस्था गरेको थियो । तर चिदम्बरमले
भारगिज कुरेन लाइ अध्यक्षमा बस्न आग्रह गरे । तर कुरेनले आफु अध्यक्ष बन्नलाइ दुइवटा शर्त राखे : १) उनलाइ दिल्लीको हावापानी मन नपर्ने भएकोले बोर्डको केन्द्रीय कार्यालय दिल्लीमा नभइ आनन्द, गुजरातमा सार्नुपर्ने र २)
उनलाइ सरकारी जागिर मन नपर्ने भएकोले ‘सरकारी जागिरेको रुपमा’ तलब नलिने । चिदम्बरमले कुरेनका यि दुबै शर्त मन्जुर गरे र तुरुन्तै खाली चेकमा हस्ताक्षर गरेर कुरेनलाइ दिए । । भारगिज कुरेन तिनै ब्यक्ति हुन जसले
भारतलाइ विश्वकै सबैभन्दा बढि दुध उत्पादन गर्ने राष्ट्र बनाइदिए । उनी ‘ह्वाइट रिभोल्युशन (दुग्ध क्रान्ति)’ का पिता भनेर चिनिन्छन् । भारगिज कुरेन राष्ट्र प्रति समर्पित एक भिजनरी नेता थिए । उनले आफ्नो पुस्तक ‘अनफिनिस्ड ड्रिम’ मा भनेका छन्: “डेरी उद्योग तिर लाग्ने मेरो चाहना थिएन तर ब्रिटिस बैज्ञानीकहरुले ‘बम्बइको दुध भन्दा ब्रिटिसको ढल बढी सफा र किटाणुरहित हुन्छ’ भन्ने अभिब्यक्ति दिएपछी मात्रै संयोगबस यो क्षेत्रतिर लागेको हु ।” एम.एस. स्वामीनाथन र भारगिज कुरेन जस्ता आफैमा महान ब्यक्तित्वहरुलाइ साथमा लिएर काम गर्ने सक्ने नेता चिदम्बरमलाइ भारतमा कुसल र उपयुक्त ब्यक्तिलाइ तुरुन्तै चिन्न सक्ने र त्यसै ब्यक्तिलाइ जसरी पनि जिम्मेवारी दिन सक्ने भिजनरी नेताको रुपमा लिइन्छ ।
उपयुक्त ब्यक्तिको छनौट, विज्ञान र प्रविधी को कुसल समायोजन र दृढ निश्चय द्वारा कसरी भिजनरी नेताले समाजलाई आफ्नो भिजनको मार्गमा डोर्याउछ भन्ने कुराको लागि भारतको ‘हरित क्रान्ति’ र ‘दुग्ध क्रान्ति’ हाम्रो लागि गतिला उदाहरण हुन । विना भिजन र भिजनरी नेता बिना कुनै पनि देशले उन्नती गर्न सकेको छैन । भिजनको सम्वन्धमा अर्को सत्य के पनि हो भने, आफ्नो भिजन आफैले बनाउनु पर्छ र आफैले त्यसको सार्थकताको लागि लाग्नुपर्छ । हाम्रो भिजन, हामीले देख्ने सपना बाहिरकोले न त देख्न सक्छ न त त्यो दिशामा अग्रसर नै हुन्छ। वास्तवमा बाहिरि दुनियालाइ हाम्रो भिजनको पछी लाग्नु पर्ने बाध्यता पनि हुदैन।
जति बेला हामी हाम्रो देशको बिकासको लागि बिदेशी सहयोगको लागि हात फैलाउदै थियौ त्यो बेला सम्म इजरायल राष्ट्रको रुपमा जन्मेकै थिएन । मरूभूमिमा अवस्थित, चारैतिरबाट शत्रु छिमेकिहरुले घेरिएर बसेको र आफ्नो
प्राकृतिक स्रोत-साधन केही पनि नभएको यो देशले ५०-६० वर्षमै संसारलाइ नै चकित पार्ने गरि प्रगति गरेको छ ।
मरूभूमिमा अवस्थित भएर पनि ‘संसारकै उच्च प्रविधीको बिकास र प्रयोगद्वारा कृषि र जलस्रोतमा संसारकै अग्रणी राष्ट्र बन्ने” इजरायली भिजन हो । यति मात्रै हैन उच्च प्रविधीको बिकास र प्रयोग गर्नेमा पनि इजरायल संसारकै अग्रणी राष्ट्रमध्ये पर्छ । ब्लुमबर्ग ग्लोबल इन्नोभेसन इन्डेक्स, २०१५, अनुसार इजरायलले प्रविधीको बिकास, उपयोग र बिस्तारमा अमेरिका र चीनलाइ समेत माथ गर्दै पाचौं स्थान हासिल गरेको छ ।
त्यसैगरि ६० को दशकमा प्रतिव्यक्ति आम्दानी उस्तै उस्तै भएपनि समष्टिगत रुपमा दक्षिण कोरियाको भन्दा हाम्रो हालत धेरै राम्रो थियो । त्यतिबेला हाम्रो धान र गहुँ को उत्पादनशीलता दक्षिण एसियामै सर्वाधिक थियो र के खाने ? कसरि बाच्ने होला ? भन्ने चिन्ता हामीलाइ थिएन । तर उनीहरुलाइ भने विहानको खाना खाइनसक्दै बेलुका कसरि हातमुख जोड्ने होला भन्ने चिन्ता हुन्थ्यो । ५० को दशकमा युद्धको कारण द. कोरियाको नाम अलि अलि सुनिने गरेपनि ६० को दशकमा आइपुग्दा सबैले ‘आश बाँकी नरहेको देश’ भनेर बिर्सिसकेका थिए । अहिले द. कोरिया संसारमा ‘इकोनोमिक पावर हाउस’ को रुपमा चिनिन्छ भने हामी ‘द. कोरियामा मजदुरी गर्न जान पाउनुपर्छ’ भनेर आमरण अनशन बस्न थालेका छौ । किन त भन्दा द. कोरियाले आप्नो भिजन बनायो र पुरै राष्ट्र त्यसैको प्राप्तिमा कटिबद्ध भएर लाग्यो भने हामीले कुनै भिजन नै बनाएनौ बरु ‘भिख’ माग्दै हिड्न थाल्यौ । फिरंगी र छिमेकिहरुले हाम्रो बिकास गरिदिइहाल्छन् भन्नेमा विश्वस्त भयौ । हामीमा ‘हामीले हाम्रो बिकास आफै गर्नु पर्छ, आफै गर्न सक्छौ’ भन्ने आत्मविश्वास पलाउदै पलाएन । हामीलाइ कसैले ‘एसियाली मापदण्डमा पुर्याउने’ सपना देखाए त कसैले ‘स्विटजरल्यान्ड’, ‘सिंगापुर’ जस्तै बनाइदिने सपना देखाए । तर हामी कहि पुगेनौ । हामीले भिजनरी नेता नै पाएनौ
। हामीकहाँ राष्ट्रिय योजना आयोग छ भिजन बनाउने । तर बिडम्बना उ आफै आप्नो भिजनमा टिक्दैन । उसको भिजन प्रत्येक आवधिक योजना पिच्छे फरक फरक हुन्छ । संसारमा भिजन पनि यति छिटो परिवर्तन हुने राष्ट्र नेपाल मात्रै
होला । हामीले अलि लामो समयको लागि बनाएको भिजन भनेको २० वर्षको लागि बनाएको ‘नेपाली कृषिको दूरगामी योजना, १९९५’ र २५ वर्षको लागि बनाएको ‘राष्ट्रिय जल योजना, २००५’ हुन् । तर यी दुबै योजनाले विदेशी सहयोगको अपेक्षा धेरै गरेको र हाम्रो आफ्नै अपनत्वको कमिले सफल हुन सकेनन् । अरुको भरमा तयार हुने कुनै पनि भिजनले सार्थक रुप लिनै सक्दैन ।
भिजन धुर्वतारा जस्तै हो । सबैले देख्छन् र आफुले गरेको सानो भन्दा सानो कार्यले पनि भिजनले देखाएको गन्तव्यमा पुग्न सहयोग गर्छ भन्नेमा सबै विश्वस्त हुन्छन् । राजनीतिक स्वार्थपूर्तिका लागि दिइने आकर्षक नाराहरु भिजन होइनन् । भिजनले त सबैको मन मस्तिष्कमा एउटा अमिट छाप छोड्छ र सोहि बमोजिमको कर्म गर्न उर्जा प्रदान गरिरहन्छ । चाहे जतिसुकै कठीन संघर्ष नै किन गर्नु नपरोस ।
लेखक सिचाई विभागका सिनियर डिभिजनल ईन्जिनियर हुनुहुन्छ ।