काठमाण्डौँ, २४ असार ।
सरकारले भुकम्प प्रभावितहरुको उद्धार तथा राहतमा ११ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ खर्च भएको बताएको छ । संसद्को लेखा समितिको आज बसेको बैठकमा गृहमन्त्री वामदेव गौतमले भुकम्प प्रभावितहरुको उद्धार र राहतमा हालसम्म भएको खर्चको जानकारी दिनुभएको हो ।
उहाँले ८ अर्ब ४१ लाख १६ हजार रुपैयाँ जिल्लाहरुमार्फत र बाँकि ३ अर्ब ८८ करोड ३१ लाख रुपैयाँ विभिन्न मन्त्रालयमार्फत खर्च भएको बताउनुभयो । उहाँका अनुसार भुकम्प प्रभावितहरुका लागि उद्योग मन्त्रालयमार्फत ६ करोड ६६ लाख रुपैयाँको चाउचाउ र विस्कुट, वाणिज्य मन्त्रालयमार्फत १५ करोडको चामल र दाल, परराष्ट्रमन्त्रालयमार्फत १२ करोडको त्रिपाल खरिद गरिएको छ ।
यस्तै, नेपाली सेनामार्फत १८ करोड, नेपाल प्रहरीमार्फत १३ करोड, सशस्त्र प्रहरीमार्फत १० करोड, स्वास्थ्य मन्त्रालयमार्फत ५ करोड ५० लाख र कृषिविकास मन्त्रालयमार्फत २ करोड ५० लाख रुपैयाँ खर्च भएको गृहमन्त्री गौतमले जानकारी दिनुभयो ।
उहाँले आफू नेतृत्वको केन्द्रीय दैवी प्रकोप उद्धार कोषमा अब जम्मा ११ करोड २६ लाख ५३ हजार रुपैयाँ मौज्दात रहेको बताउनुभयो । गृहमन्त्री गौतमले भुकम्प प्रभावितहरुको उद्धार तथा राहतमा वैशाख १२ पछि जेठ १२ गतेसम्म ३९ वटा हेलिकोप्टरले ४ हजार ६ सय ३९ वटा उडान गरेको जानकारी दिंदै उडानमा कुनै किसिमको दुरुपयोग नभएको दाबी गर्नुभयो ।
समितिले भुकम्प प्रभावितहरुको उद्धार तथा राहतमा भएको खर्चको विषयमा स्पष्ट पार्न भोली अर्थमन्त्री डा. रामशरण महतलाई बैठकमा बोलाएको छ । अर्थमन्त्री महतसँगको छलफलपछि समितिले निर्णय लिने समितिका सभापति जनार्दन शर्माले बताउनुभयो ।