काठमाण्डौ, १० असार ।
विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेट छनौट प्रतियोगिताका लागि इग्ल्याण्ड भ्रमणमा रहेको नेपाली टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ ।
बिहीबार वेलुका सम्पन्न खेलमा नेपाल मिडलसेक्ससँग १४ रनले पराजित भएको हो । मिडलसेक्सले दिएको १ सय ६५ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले निर्धारीत २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रन मात्र बनाउन सक्यो ।
पहिलो बलमै सागर पुनलाई शुन्य रनमा गुमाएको नेपालका लागि ओपनर सुवास खकुरेलले ४६, ज्ञानेन्द्र मल्ले ४१ र शरद भेष्वाकरले ३२ रन बनाएपनि जितका लागि पर्याप्त भएन् ।
पुनसँगै कप्तान पारस खड्का र प्रदिप ऐरि समेत शुन्य रनमा पवेलिएन फर्केका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मिडलसेक्सले निर्धारीत २० ओभमा ४ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो ।
नेपालका जितेन्द्र मुखियाले २ र सोमपाल कामीले १ विकेट लिन बाहेक अन्य वलरको प्रदर्शन राम्रो रहन सकेन् । बेलायतमा ४ अभ्यास खेल खेलेपछि नेपालले नेदरल्याण्डसँग समेत ४ ट्वेन्टी – ट्वेन्टी खेल खेल्नेछ ।