काठमाडौं, १ असार ।
सरकारले म्यागी र मायोज ब्रान्डका ‘नो एडेड एमएसजी’ लेखिएका चाउचाउमाथि भ्रामक प्रचार गरेको अभियोगमा कारबाही गर्ने भएको छ ।
भारतको ‘नेस्ले इन्डिया’ लिमिटेडद्धारा उत्पादित ‘म्यागी’ चाउचाउ यही जेठ २१ गतेबाट आयात तथा बिक्री–वितरणमा रोक लगाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनामएको छ ।
विभागले बजारबाट यी र अरु नेपालबाटै उत्पादित चाउचाउका नमूना संकलन गरी परीक्षण गरेको थियो ।
हालसम्म संकलन गरिएका चाउचाउका नमूनामा सिसा (लीड)को मात्रा मापदन्ड अनुसार नै पाएको तर अजिनोमोटो मोनोसोडियम ग्लूटामेट (एमएसजी) चाँही सबैमा पाएको विभागले जनाएको छ ।
विभागले म्यागी ब्रान्डका ५, वाइवाइको ३ र यमयमको एउटा नमूना परीक्षण गरेकोमा सिसा (लीड)को मात्रा नेपाल सरकारले तोकेको अनिवार्य गुणस्तरअनुसार अधिकतम २ दशमलप ५ पार्टस् पर मिलियनको परिधिभित्र पाइएको जनाएको हो ।
विभागका महानिर्देशक सन्जीवकुमार कर्णले पुरानो ऐन–कानुनका कारण कारबाही न्यून रहेको तर वस्तु बजारबाट फिर्ता गराइने उल्लेख गरे ।