काठमाडौ २८ जेठ ।
अभिनेत्री हर्षिका श्रेष्ठले बुधबार भारतको कलकत्ता निवासी आफ्ना प्रेमी प्रसुन झुनझुनवालासँग विवाह गरेकी छन्।
हर्षिकाले आफ्ना सिमित पारिवारिक सदस्यहरुको उपस्थितिमा तीनकुने स्थित एक पार्टी प्यालेसमा साधारण किसिमले विवाह गरेकी हुन्।
हर्षिकालाई दुलही बनाएर भित्र्याउन आएका प्रसुन नेपाली दौरा सुरुवालमा सजिएका थिए। उनले कम्मरमा नेपाली खुकुरी भिरेका थिए भने शिरमा नेपाली ढाका टोपी पहिरिएका थिए।
बिहेमा जग्गे भने थिएन। दियो, कलश र गणेश पुजेर प्रसुनले हर्षिकालाई सिन्दुर-पोते तथा मङ्गलसुत्र लगाइदिए। विवाह गराइरहेका नेपाली पण्डितले उनलाई विहेमा गर्नुपर्ने निर्देशन हिन्दीमा नै दिइरहेका थिए। प्रसुन पनि पण्डितको निर्देशन अनुसारको विवाहको विधि गरिरहेका थिए।
सिन्दुर पोतेपछि पण्डितले हर्षिकालाई श्रीमान बनेका प्रसुनलाई खुट्टामा ढोग्न अर्हाए तर प्रसुनले सुरुमा ढोग्न दिएनन। आफन्तहरुले कर गरेपछि हर्षिकाले उनको खुट्टैमा ढोगी दिइन्।

हर्षिकाको विवाहमा नेपाली परम्परा हाबी भएपनि केही मारवाडी शैलीको पनि अपनाइएको थियो।
विवाहपछि संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै हर्षिकाले आफूले खोजेजस्तो जीवनसाथी पाँउदा खुसी लागेको बताइन। त्यस्तै ‘यो प्रेम विवाह नै हो नि?’ भन्ने ठट्टामा हर्षिकाले प्रसुनले आफूलाई प्रेम प्रस्ताव नराखी सिधै विवाहको प्रस्ताव राखेको जानकारी गराइन।
‘फिल्ममा उनको सक्रियता रहन्छ कि रहँदैन?’ भन्ने अर्को प्रश्नमा हर्षिकाले केही दिन परिवारसँग बिताएपछि आफूले प्रतिबद्धता जनाएका फिल्महरु सक्ने भनिन्।