जेष्ठ २३ बुटवल ।
एलपी ग्यास विक्रेताहरुले अत्यावश्यकीय वस्तु ग्यासको कारोबारमा भ्याटको थ्रेसहोल्ड बढाउन माग गरेका छन् । दक्षिण एशियाली मुलुकहरुमा ग्यास जस्तो अत्यावश्यकीय वस्तुमा भ्याट नै नलाग्ने व्यवस्था रहेपनि नेपालमा अन्य वस्तुको सरह कर तिर्नुपरेको उनीहरुले गुनासो गरे ।
ग्यास विक्रेता संघ रुपन्देहीको पाँचौं साधारणसभामा व्यवसायीहरुले भ्याटको थ्रेसहोल्ड नबढाउने हो भने ग्यासको कारोबारमा भ्याट नै खारेज गर्नुपर्र्र्ने तर्क गरे ।
ग्यास विक्रेता महासंघका केन्द्रीय उपाध्यक्ष सहदेवमान श्रेष्ठले एलपी ग्यासमा भ्याटको थ्रेसहोल्ड २० लाखबाट बढाएर ४० लाख बनाउनुपर्ने माग गरे ।
‘दक्षिण एशियाली मुलुकहरुमा एलपी ग्यासमा राज्यले भ्याट नै लगाउंदैन’–उनले भने–‘१ करोडको कारोबार गर्दा १ लाख मात्र नाफा हुने ग्यासमा भ्याटको थ्रेसहोल्ड दोब्बर बनाउनुपर्छ भन्ने हाम्रो माग हो ।’
उनले ग्यासको मूल्य ७ सय हुँदा कायम भएको कमिसन रकम मुलत दोब्बर हुँदा पनि उत्ति नै हुँदा व्यवजसायी मारमा परेको तर्क गरे । उपाध्यक्ष श्रेष्ठले जाडोयाममा २ महिना भारतको बरौली नाका सफाई गर्ने परिपाटीले नेपालमा ग्यासको अभाव हुने गरेको औंल्याउंदै उक्त नाका गर्मी मौसममा सफाई गर्ने व्यवस्थाका लागि सरकारले पहल गर्नुपर्ने सुझाव दिए ।
संघका अध्यक्ष छविलाल गैरेले विभिन्न ग्यास उद्योगले फरक फरक मूल्य कायम गर्दा विक्रेतालाई समस्या हुने भन्दै मूल्यमा एकरुपता गर्नुपर्र्ने, अति संवेदनशील वस्तु भएकाले यसको प्रयोगलाई सुरक्षित बनाउन राज्यका निकायले उपभोक्तालाई चेतनामुलक अभियान चलाउनुपर्ने धारणा राखे ।
नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रीय डिपो भलबारिका प्रमुख दिनेश यादवले अबको केही समयपछि देशको कूल आपुर्तिको ६० प्रतिशत आपुर्ति भलबारी डिपोबाट हुने जानकारी गराए ।
उनले निगमले ग्यास उद्योगी, विक्रेता सबैसँग समन्वय गरेर आपुर्तिलाई सहज र प्रभावकारी बनाई अभाव हुन नदिकाले वाणिज्य तथा आपुर्ति मन्त्रालयले भलबारी डिपोको स्तरोन्नती गरेको बताए ।