काठमाडौं, १८ जेठ ।
केही साता अघिदेखि बढ्दो तापक्रमका कारण समस्यामा परेका पश्चिम तराईका बासिन्दाहरुले सितलता महसुस गर्न केही समय कुर्नु पर्ने भएको छ ।
हिजो बेलुकीदेखि तापक्रम केही घटेपनि सितलताको अनुभूतिका लागि भने मनसुन सम्म नै कुर्नुपर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायू प्रवेश गर्ने संकेत देखिएकाले आज पनि पश्चिम तराईमा थोरै मात्र तापक्रम घट्ने अनुमान गरिएको महाशाखाका मौसाविद मिनकुमार अर्यालले बताउनुभयो ।
मौसमविद अर्यालका अनुसार भारत राजस्थानको तातो हावाको प्रभाव र झरी नपरेका कारण पश्चिम तराईमा गर्मी बढेको हो ।
प्रिमनसुनको अन्त्यतिरमा थोरै मात्रमा मात्र वर्षा भएकाले पनि गर्मी बढेको र जुन १० तारिखदेखि मनसुन शुरु भएपछि मात्र शितल हुने मौसमविदको भनाई छ ।
महाशाखाका अनुसार आज देशभर बद्ली हुने सम्भावना भएकाले हिजोको जति गर्मी नहुने भएको छ । आज काठमाडौंको तापक्रम ३० देखि ३२ डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ