काठमाडौं १७ जेठ ।
गत वैशाख १२ को विनाशकारी भूकम्प पछि बन्दा रहेका विद्यालयहरु आजबाट सन्चालनमा आएको छ । यद्यपी अधिकांश विद्यालयहरुमा विद्यार्थीहरुको उपस्थििति न्युन रहेको छ ।
बन्द विद्यालय आजबाट सञ्चालन गरिए पनि पठनपाठन हुन भने केही समय लाग्ने भएको छ । बालबालिकामा भूकम्पको त्रासदी कायमै रहेकाले त्यसबाट मुक्त गराउन केही दिन मनोरञ्जनात्मक तथा मनोपरामर्शका कक्षाहरु सञ्चालन गर्ने विद्यालयहरुको योजना छ ।
भूकम्पका कारण बन्द रहेको विद्यालय जेठ १ गतेदेखि सञ्चालन गर्ने तयारी भइरहँदा वैशाख २९ को अर्को शक्तिशाली पराकम्पले गर्दा सरकारले थप १५ दिनका लागि विद्यालय बन्दको घोषणा गरेको थियो ।
देशभरका १९ हजार कक्षाकोठा भूकम्पका कारण पूर्ण रूपमा ध्वस्त भएका छन् । भने करिब पाँच हजार कक्षाकोठामा आंशिक क्षति पुगेको छ ।
विद्यालयमा राखेर विद्यार्थीलाई पढाउन सक्ने अवस्था नभए पनि स्थिति सामान्य बनाउन भन्दै विद्यालय सञ्चालन गर्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
यस्तै हरियो स्टिकर लागेको भवनमा मात्र विद्यार्थीहरुलाई राख्न विद्यालय प्रशासनलाई निर्देशन दिएको शिक्षा विभागका निर्देशक खगेन्द्र नेपालले जानकारी दिनु भयो । विद्यालय खुलेपछि अवस्था धेरै सहज बन्दै जाने उहाको भनाई छ ।
भूकम्पबाट प्रभावित जिल्लाका धेरैजसो विद्यालयका कक्षाकोठा पूर्ण रूपमा ध्वस्त भए पनि पाल र अस्थायी टहरामा कक्षा सञ्चालन गर्ने तयारी भएको छ ।
अति प्रभावित गोरखा, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप जिल्लाका उत्तरी भेगका विद्यालय ध्वस्त भएका छन् । बस्ती नै सखाप भएका गाउँका विद्यालय सञ्चालन गर्ने विषयमा भने अन्योल उत्पन्न भएको छ ।