कमठमाडौ, ११ जेठ ।
भूकम्पपीडितको सहयोगका लागि बेलायतका दुई बालिकाले खेलौना बेचेर र माल्दिभ्सका सांसदले फुटबल खेलेर रकम जुटाएका छन्। विपत्तमा परेका नेपालीको सहयोगका लागि विदेशीबाट विदेशी भूमिमा भएका यी प्रयासको सबै क्षेत्रबाट प्रशंसा भएको छ।
सात समुद्रपारि रहेको बेलायतमा त्यहाँका नौ वर्षीया सोफिया जोन्स र आठ वर्षीया सोफिया लियोन्स आफ्ना खेलौना बेचेर सहयोग रकम जुटाउने अभियानमा सक्रिय छन्। उनीहरू मिल्ने साथी हुन्।
जोन्स र लियोन्स बेलायतको प्ले माउथस्थित सेन्ट एड्वार्ड स्कुलमा चार कक्षामा पढ्छन्। उनीहरूले भूकम्पपीडितलाई सहयोग रकम जुटाउन विभिन्न अवसरमा आफ्ना अभिभावक र इष्टमित्रबाट पाएका खेलौना बेच्ने जुक्ति निकालेका हुन्।
यसरी संकलन गरेको रकम उनीहरूले नेपालका भूकम्पपीडित बालबालिकालाई उपलब्ध गराउने योजना बनाएका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।