देहरादूनस्थित ुपेस्तालोजी चिल्डेन भिलेजु का प्रतिनिधिले बिनाअनुमति दोलखाबाट ११ बालक र ८ बालिका ल्याएर काठमाडौंको एसओएस तथा ललितपुर, लुभुको मेरीवार्ड स्कुलमा राखेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो ।
एक जिल्लाका बालबालिकालाई अर्को जिल्लामा लैजान अभिभावकको स्वीकृतिसहित जिल्ला बालकल्याण समिति, जिल्ला प्रशासन कार्यालय, गाउँ विकास समिति वा स्थानीय प्रहरीको पूर्वअनुमति लिनुपर्ने कानुनी प्रावधान छ । यसविपरीत उनीहरूले कसैको अनुमति नलिई भारत लैजान ती बालबालिका उपत्यका भित्याएका थिए ।
केन्द्रीय बाल कल्याण समितिले उनीहरूले पूर्वअनुमति नलिई बालबालिका ल्याएकाले मानव ओसारपसारसम्बन्धी कानुन आकर्षित हुने भन्दै प्रहरीमा निवेदन दिएपछि अनुसन्धान प्रक्रिया अघि बढाएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दानबहादुर कार्कीले जानकारी दिनुभयो ।
उद्धार गरिएका बालबालिकालाई समितिले गोल्फुटारस्थित हिमाली नवीन समाजको संरक्षण गृहमा राखेको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरूले यसअघि पनि नेपाली बालबालिकालाई छात्रवृत्तिको बहानामा भारत पठाउने गरेको खुले पनि कहिले कति बालबालिका कुन प्रक्रियाबाट भारत पु¥याइए भन्ने खुल्न नसकेको आजको नागरिकमा खबर छ । ।
पक्राउ परेकाहरूले उनीहरूको संस्थाले नेपाल, भारत र चीनको तिब्बतबाट आयस्रोत कमजोर भएका अभिभावकका बालबालिका ल्याएर छात्रवृत्तिमा पढाउने गरेको र दोलखाबाट ल्याइएका बालबालिकालाई परीक्षा लिन ल्याएको दाबी गरेको थियो ।
भूकम्प प्रभावित जिल्लाबाट प्रलोभनमा पारेर बालबालिका ओसारपसारको घटना देखिन थालेपछि केन्द्रीय बाल कल्याण समितिले सार्वजनिक सूचना जारी गरी यस्ता गतिविधिमा रोक लगाए पनि अवैध ओसारपसारको क्रम भने रोकिएको छैन । दुई साताअघि ललितपुर, नख्खुको एक विद्यालयले शिक्षा र संरक्षणको आवरणमा धादिङबाट काठमाडौं ल्याउन खोजेका ४६ बालबालिकाको उद्धार गरिएको थियो ।