काठमाण्डौ, १० जेठ ।
म्याम्दीको राम्चेमा पहिरो खसेर काली गण्डकी नदी थुन्दा बनेको बनेको ताल फुटेको छ । तर यसले कुनै मानवीय तथा भौतिक क्षति नभएको बताईएको छ । तालको पानी सकिएको र कालीगण्डकी नदी अब पुरानै बहावमा आएको छ । नदीको पानी बेलुका सवा ५ बजेबाट ओभर फ्लो भएर बग्न थालेको थियो ।
यसैविच कालिगण्डकी नदी थुनिएको ठाउँमा उद्धार तथा आइपर्ने आपतकालिन अवस्था विरुद्ध एक सय ९३ जना सुरक्षाकर्मी परिचालन गरेको छ । गृहमन्त्रालयका अनुसार एक सय २७ जना नेपाली सेना, सशस्त्र प्रहरीका ४१ जना तथा नेपाल प्रहरीका २५ जना परिचालन गरिएको छ ।
गएरातिदेखि थुनिएको कालीगण्डकी नदी निरीक्षणका लागि उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम आइतबार दिउँसो हेलिकप्टरबाट म्याग्दीको राम्चे, बैसरी पुग्नुभएको थियो । पहिरो र त्यसका कारण कालीगण्डकी नदी थुनिदा राम्चे–९ का १० घरका ४३ तथा भगवती–बैसरीका १६ घरका ८० जना विस्थापित भएका र उनीहरुलाई सुरक्षित स्थानमा गिएको गृहमन्त्रालयले जनाएको छ ।
उता पहिरोले नदी थुनिदा कालीगण्डकी जलविद्युत आयोजनाको उत्पादन बन्द भएको मन्त्रालयले जनाएको छ । कालिगण्डी जलविद्युत आयोजनाको बाँधका सबै ढोका खोलिएको छ । विद्युत उत्पादन बन्दभएपनि तत्काल लोडसेडिङ नबढ्ने विद्युत प्राधिकरणले जनाएको छ । पहिरोको अध्ययनका लागि भूगर्भ्विद सहितको टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।