काठमाडौं, १० जेठ । सत्तारुढ दल नेकपा एमालेले एमालेले भूकम्पबाट बढी प्रभावित १७ वटा जिल्लाका ५१ वटा निर्वाचन क्षेत्रमा स्वयंसेवक परिचालन गरेको छ ।
एमालेले काठमाडौंको भृकुटीमण्डपमा एक कार्यक्रम गरी भूकम्प प्रभावितको सहयोगका लागि पार्टीका झण्डै १० हजार नेता तथा कार्यकर्तालाई स्वयंसेवकको रुपमा परिचालन गरेको हो ।
केन्द्रीय सदस्यको नेतृत्वमा खटिएको स्वयंसेवकको टोलीमा ईन्जिनियर, सिकर्मी, डकर्मी, स्वास्थ्यकर्मी लगायत छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्रमा खटिने स्वयंसेवकलाई सपथ खुवाएर विदाइ गर्नुभएको हो ।
स्वयंसेवकले भूकम्प प्रभावित क्षेत्रमा खटिने क्रममा बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला भएका तथा न्युन आय भएका परिवारलाई प्राथमिकता दिने छन् ।
स्वयंसेवकले भूकम्प प्रभावितको सहयोगका लागि गरेको कामको अनुगमन पार्टी अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, महासचिव इश्वर पोखरेल लगायतका शीर्ष नेताहरुले गर्ने व्यवस्था मिलाइएको एमालेले बताएको छ ।
आफ्ना स्वयंसेवकले भूकम्प प्रभावित क्षेत्रमा भत्किएका घरका भग्नावशेष पन्छाउन, अन्नपात निकाल्न तथा पीडितलाई अस्थायी बास बनाउन सहयोग गर्ने एमालेका सचिव प्रदिप ज्ञवालीले बताउनुभयो ।
स्वयंसेवक एक महिनासम्म पार्टीले खटाएको क्षेत्रमा रहने एमालेले जनाएको छ । भूकम्प प्रभावित क्षेत्रमा खटिने स्वयंसेवकका लागि पार्टीले खानपान र बसोबासको व्यवस्था गर्ने छ । पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्वयंसेवकहरुका लागि आवश्यक पाल, टेन्ट र खाद्यान्न सामाग्री विभिन्न क्षेत्रबाट संकलन गरिएको बताउनुभयो ।