काठमाण्डौ ,९ जेठ ।विदेशबाट आएका आफन्त लिन विमानस्थल पुगेका बेला खुकुरी प्रहारबाट घाईते काठमाण्डौं गौरीधारा निवासी ३३ वर्षीय मधुसुधन पौडेलको नर्भिक अस्पतालमा उपचार भईरहेको छ ।
त्रिभुवन विमानस्थलको गेटमा सुरक्षा जाँच गर्ने व्यवस्था भएता पनि कमजोर सुरक्षाको फाइदा उठाउँदै विमानस्थलको आगमनकक्ष नजिकै शुक्रवार साझ उनीमाथि खुकुरी प्रहार भएको थियो ।
सुरक्षाका लागि प्रहरी डीआइजीको पोष्टिङ रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय आगमनद्वार अगाडि नै उनीमाथि आक्रमण भएको हो ।
खुकुरी प्रहारबाट पौडेलको दाहिने हातको तीन ठाउँमा गहिरो चोट लागेको छ । खुकुरी प्रहार गर्नेमा विमानस्थलमा पर्यटकहरुलाई सेवा दिने हरियो नम्बर प्लेटको ट्याक्सी बा १ य १०५७ का चालक राजकुमार गुरुङ्ग रहेको पौडेलले बताउनु भयो ।
गुरुङ्ग विमानस्थलमा यातायात सेवाका लागि आधिकारिक सस्था हवाइ यातायात सेवा यात्रु लिमिटेडका शेयर सदस्यसमेत रहेको बताइएको छ ।
आफन्त लिनका लागि पौडेल निजी नम्बर प्लेटको सवारी साधनमा विमानस्थल पग्नुभएको थियो । हरियो नम्बर प्लेटको कमाइमा घाटा लगाउन खोजेको भन्दै हरियो प्लेटका गाडी चलाउने व्यवसायीले पौडेलमाथि आक्रमण गरेको यातायात स्वतन्त्र यातायात मजदुर संगठनले जनाएको छ । कुनै निजी नम्बर प्लेटको गाडि विमानस्थल छिरे उनीहरुले यस्तै व्यावहार गर्ने गरेको बताईएको छ ।
पीडितका अनुसार आगमनद्वार अघि हवाइ यातायात सेवा यात्रु लिमिटेडद्वारा सञ्चालित काउण्टरमा आफन्त पर्खिएर बसेका पौडेललाई यो क्षेत्रमा आएर यात्रु बोलाउन पाइँदैन भन्दै गुरुङले सुरुमा हप्कीदप्की गरेका थिए ।
विवाद भएको केही समयपछि केही अन्य व्यक्तिसहित खुकुरीसमेत लिएर आई एकाएक आक्रमण गरेको पीडित पौडेलको भनाई छ ।