काठमाण्डौ, ९ जेठ ।
हालै गएको भूकम्प र पटक पटकको पराकम्पनका कारण पहाड भत्किएर पहिरोको जोखिममा परेका म्याग्दी बैसरीका २६ घरधुरीलाई सुरक्षित ठाउँमा सारिएको छ ।
कालीगण्डकी नदी पारी राम्चे गाविस ९ स्थित काफलडाँडाको भिर भत्किँदा जोखिममा परेका भगवती–२ बैसरी र राम्चे–९ को बस्तीलाई खाली बनाई सुरक्षित ठाउँमा सारिएको हो ।
पहिरोले बैसरीमा पाँच वटा घर भत्काएर क्षति गरेको थियो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बैसरीका १६ र राम्चे औलका १० घरपरिवारलाई सुरक्षित ठाउँमा सार्ने निर्णय गरेको हो ।
निर्णयलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्म मुडभरि, रेडक्रस सभापति लेखबहादुर हमाल, सदस्य सुरज केसी, भगवतीका सचिव भोला आचार्य र राम्चेका सचिव कृष्ण विक मार्फत जोखिममा रहेका घरपरिवारलाई आवासका लागि एक एक थान पाल उपलब्ध गराएको छ ।
बैसरीदेखि पाँच सय मिटरभन्दा बढी अग्लो अक्करे पहाडको धेरै ठाउँमा चिरा परेको र निरन्तर पहिरो खसेकाले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताउनुभयो ।