काठमाडौं, जेठ ६ –
प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा भूकम्प प्रभावितको सहयोगका लागि सहयोग रकम जम्मा हुने क्रम जारी छ । आज मात्र प्रधानमन्त्री उद्धार कोषमा ६ करोड १२ लाख ७३ हजार जम्मा भएको छ । आज नेपाल पर्यटन बोर्डले ५ करोड रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।
प्रधानमन्त्रीे निवास बालुवाटारमा आज आयाजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा पर्यटन बोर्डका अध्यक्ष सुरेशमान प्रधानले पाँच करोड रुपैयाको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नुभएको हो ।
त्यसैगरी, एपेक्स कलेज काठमाडौंका तर्फबाट कलेजका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले १० लाख रुपैयाँको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गर्नु भएको छ ।
त्यसैगरी आज नै नाम्स र वीर अस्पताले ३६ लाख, माछापुच्छ्रे बैकले २६ लाख, जिटी एल नेपाल टेलिकमको १२ लाख ५० हजार, पेडियाट्रिक सोसाइटीको १२ लाख, बुढानीलकण्ठ स्कुलले ७ लाख ,गोंगबु आवास क्षेत्र सुधारले १० लाख र ब्रह्मा कुमारी राजयोग केन्द्र (ओम शान्ति परिवार)का तर्फबाट ३ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा भएको छ ।