काठमाडौं, ४ जेठ ।
भूकम्प प्रभावितको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विदेशी दातृ निकायको तर्फबाट सोमबारसम्म १ अर्ब ६३ करोड भन्दा बढी रुपैयाँ जम्मा भएको छ ।
परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आज सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी अहिलेसम्म विभिन्न मित्रराष्ट्र, एसियाली विकास बैंक र विदेशी संघसंस्था एवं व्यक्तिबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ६३ करोड ५० लाख ६९ हजार १ सय ७ रुपैयाँ जम्मा भएको जानकारी दिनुभएको हो ।
त्यसैगरी विदेशस्थित, नेपाली नियोगको सक्रियतामा २८ करोड ९५ लाख ३२ हजार ८ सय ४६ रुपैयाँ जम्मा भएको छ ।
भूकम्पमा भत्किएका भवनबाट पुरिएकाको खोजीका लागि भन्दै विभिन्न ४० वटा मुलुकबाट आएका तालिमप्राप्त व्यक्ति परिचालित भएको तथा उद्धारका लागि तालिमप्राप्त ४ हजार ५० जना प्रत्यक्ष रुपमा संलग्न रहेको पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
त्यसैगरी भूकम्पमा परी घाइते भएकाको उपचारका लागि १ सय ७ मेडिकल टिम सञ्चालन भएको पनि परराष्टमन्त्रालयले जनाएको छ ।
केही विदेशी टोली आआफ्ना उद्धार हेलिकप्टर सन्चालन गरी नेपाली सेनासँगको समन्वयमा प्रभावित क्षेत्रमा खटिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । पत्रकार सम्मेलनमा परराष्टमन्त्री पाण्डेले अन्तराष्ट्रिय समुदायसँग ४ सय १५ मिलियन अमेरिकी डलर आपतकालीन सहयोगका लागि आह्वान गरेको पनि जानकारी दिनुभएको थियो ।