‘सम्भव’ भएका ‘असम्भवहरु’

‘सम्भव’ भएका ‘असम्भवहरु’

  • आइतवार, जेष्ठ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 22.4K
    SHARES

असम्भव शव्द केवल मुर्खहरूको शव्दकोषमा मात्र हुन्छ।‘ यो भनाइ विश्व बिजेता सम्राट नेपोलियन वोनापार्टको हो । तर इतिहाँस हेर्ने हो भने ‘असम्भव’ शव्द वैज्ञानिकहरुको शव्दकोषमा पो बढी देखिन्छ ।

यो शव्द उनिहरुको शव्दकोषमा स्थापित नै देखिन्छ । वैज्ञानिकहरुले १००/१५० वर्ष अगाडि असम्भव भनेका कुराहरु अहिले हाम्रो दैनिक जिवनका अभिन्न अङ्ग बनेका छन् । यहाँ यस्तै ‘सम्भव’ भएका केहि ‘असम्भव’ हरुको बारेमा चर्चा गरिएको लोर्ड केल्विन १९ औं शताव्दीका महानतम् वैज्ञानिक हुन् तर उनले थुप्रै असम्भवहरुको घोषणा गरे । उनले हावाभन्दा गह्रुंगो चिज (जस्तोः हवाइजहाज) बनाउन असम्भव छ भने ।

त्यस्तै उनले एक्स रे लाई केवल भ्रामक प्रचार ठाने भने रेडियोको कुनै भविश्य नै छैन भनेर घोषणा गरे । उनले पृथ्वी अरबौं वर्ष पुरानो हुनै नसक्ने ठोकुवा गरे। उनले पृथ्वी २ देखि ४ करोड वर्ष भित्र नै चिसो भैसकेको हुनुपर्ने जिकिर गरे । जबकि भूगोलशास्त्री र डार्विनको सिद्दान्तमा विश्वाश गर्ने जीव वैज्ञानिकहरु पृथ्वी अरबौं वर्ष पुरानो हुनुपर्ने कुरामा विश्वस्त थिए ।

केल्विनको यो दावी तब गलत सावित भयो जब मेडमक्युरिले परमाणु बल (न्युक्लियर फोर्स) पत्ता लगाइन । परमाणु बल पत्ता लागेपछि रेडियोएक्टिव क्षयका कारण उत्पन्न तापका कारण पृथ्वीको केन्द्र भाग कसरि अरबौं वर्षसम्म पनि पग्लेको अवस्थामा रहन सक्छ भन्ने कुरा पत्ता लाग्यो ।

यसै गरी परमाणु विज्ञानका पिता मानिने वैज्ञानिक अरनेस्ट रदरफोर्डले परमाणुको न्युक्लियस त पत्ता लगाए तर परमाणु बम बनाउन सकिने कुरालाइ भने ठाडै अस्विकार गरे । सन् १९०३ मा न्युयोर्क टाइम्स ले उड्ने मसिन बनाउने कुराको पछि लाग्नु भनेको समयको बर्बादी हो भनेर लेख्यो ।

तर टाइम्सले यसो लेखेको ठीक एक हप्ता पछी राइट ब्रदर्सले किटिहकमा पहिलो चोटि हवाइजहाज उडाए । त्यसै गरी रकेट विज्ञानका पिता मानिने प्रोफेसर रोबर्ट गोडार्डले सन् १९२१ मा रकेट विज्ञानको सिद्दान्त प्रतिपादन गर्दा पुरै विश्व उनीमाथि खनियो ।

टाइम्स पत्रिकाले त सम्पादकीय नै लेखेर प्रोफेसर गोडार्डलाई “हाइस्कुलका बच्चा जतिको पनि ज्ञान नभएको” भनेर उनको रकेट सिद्दान्तलाइ “हावाधारी गफको” संज्ञा दियो ।

टाइम्स ले प्रोफेसर गोडार्डलाई क्रिया र प्रतिक्रिया बिचको सम्वन्ध थाहा नभएको, प्रतिक्रिया ‘भ्याकुम’ बाट प्राप्त हुन नसक्ने र अन्तरिक्षमा हावा समेत नभएकोले रोबर्टले भनेजस्तो रकेट प्रक्षेपण गर्न सकिने कुरालाई सिधै ‘असम्भव’ घोषणा गरिदियो ।

हुन पनि यो कुरा विज्ञानको ‘ क्रिया बराबर प्रतिक्रिया हुन्छ’ सिद्धान्त बिरुद्ध थियो। प्रतिक्रियाको लागि कुनै न कुनै ‘माध्यम’ को जरुरत पर्ने र अन्तरीक्षमा हावा समेत नभएकोले रकेटलाइ बाहिरि कक्षमा धकेल्नै सकिदैन भन्ने मान्यताले जरो गाडेको थियो ।

दुर्भाग्यवश हिटलरले रकेटको महत्व बुझे र दोस्रो विश्वयुद्धमा तिनै असम्भव भनिएका भि-२ रकेटको वर्षाले लण्डनको सातो लिए। टाइम्सले गोडार्ड बिरुद्ध सम्पादकीय लेखेको ठिक ४९ वर्षपछि अपोलो-११ यान मार्फत पहिलो पटक अन्तरिक्ष यात्रीले चन्द्रमामा पाइला टेके ।

बल्ल टाइम्सले भ्याकुममा पनि रकेट प्रक्षेपण हुन सक्ने कुरा स्थापित भएको स्विकार गर्‍यो र आफुले गरेको गल्तिको लागि गहिरो दुःख व्यक्त गर्‍यो । अहिले ‘स्पेस टेक्नोलजी’ सुरक्षा,संचार, वातावरणीय अध्ययन जस्ता कुराको लागि वरदान सावित भएको छ ।

आफुले गर्न नसकेको कार्यलाइ असम्भव घोषणा गर्ने कार्य थामस एल्बा एडिसन देखि अल्बर्ट आइन्सटाइन सम्मले गरे। विद्युत बल्बको कुरा गर्दा संसारभरका वैज्ञानिकहरुबाट ‘एडिसन बौलाएको’ भनेर आरोप खेपेका एडिसन आफु स्वयं भने निकोलस टेस्लाले ‘अल्टरनेटिङ्ग करेन्ट इन्डक्सन मोटर’ को कुरा गर्दा सिधै ‘यो त असम्भव छ’ भने ।

उनले आफ्नो डि सि जेनेरेटरको पक्षमा र टेस्लाको ए सि जेनेरेटरको विपक्षमा अभियान नै चलाएका थिए । एडिसन लगायत थुप्रै अरु वैज्ञानिकहरुले समेत टेस्लाको इन्डक्सन मोटरको संसारमा कुनै ‘व्यवहारिक प्रयोग’ नभएको भनेर सावधान गराए ।

टेस्लाको इन्डक्सन मोटर नभएको भए अहिले विद्युतलाइ उत्पादन केन्द्र देखि सयौं किलोमिटर टाढा हाम्रो घर-घरमा जडान गर्न सम्भव हुने थिएन । त्यसै गरी १९३० को दशकमा आइन्सटाइन समेत परमाणु बम बनाउन सकिने कुरालाई असम्भव ठान्दथे । उनले नै पत्ता लगाएको सूत्र E = mc2 अनुसार वैज्ञानिकहरु परमाणुको न्यूक्लियसमा अथाह शक्ति हुन्छ भनेर विश्वाश गर्दथे तर एउटै न्यूक्लियसबाट मात्रै निस्कने शक्ति नगण्य हुन्थ्यो ।

तर भौतिकशास्त्री लियो जीलार्डले सन् १९३३ मा चेन रियाक्सन को सहायताले एउटै युरेनियम परमाणुको शक्ति पनि करौडौं गुणा बढाउन सकिने कुरा पत्ता लगाए । उनले गोप्य रुपले यस्ता थुप्रै प्रयोगहरु गरे र साथ साथै आइन्सटाइन र राष्ट्रपति रुजबेल्ट संग पनि वार्ता गर्दै रहे। यसको फलस्वरुप ‘म्यानहाटन आयोजना’ बन्यो र परमाणु बमको आविश्कार भयो । यसको साथै उर्जाको मागलाइ सहजै पूर्ति गर्न सक्ने परमाणु भट्टीहरुको पनि आविश्कार भयो ।

आइन्सटाइन त कालो छिद्र (Black Hole) हुन्छ भन्ने कुरालाई समेत असम्भव भन्दथे । विगतमा जुन कुरा असम्भव लाग्थ्यो अहिले आएर त्यहि कुरा समाजको अभिन्न अंग बन्न पुगेको छ ।

सन् १९४३ मा आइ बि एम का अध्यक्षले “ कम्प्युटरको विश्व बजार जम्मा ५ वटा कम्प्युटरको हुनेछ” भनेका थिए तर अहिले कम्प्युटर बिना कुनै पनि कार्य गर्न असम्भवप्रायः जस्तै देखिन्छ । जसरी हिजोको असम्भव कुरा आज सम्भव भएको छ, त्यसै गरी आज असम्भव देखिने कुरा भोलि पनि असम्भव नै हुन्छ भन्न सकिन्न । जस्तोः वर्तमान समयका चर्चित भौतिकशास्त्री स्टेफन हकिंगले जति प्रयास गर्दा पनि ‘टाइम ट्राभल’ असम्भव छ भनेर प्रमाणित गर्न सकेका छैनन् । अर्का प्रशिद्ध भौतिकशास्त्री मिसियो काकुले वैज्ञानिक जगतका असम्भवहरुलाई तीन समूहमा बर्गिकरण गरेका छन् :

१) प्रथम श्रेणीका असम्भवहरुः यस अन्तर्गत यसै शताव्दी भित्र व्यवहारमा लागु हुनसक्ने असम्भवहरु जस्तोः

टेलिप्याथी (एउटाको मनको कुरा अर्काले बुझ्न सक्ने र बिना बोलेर, लेखेर वा संकेतबिना नै मनमनै कुराकानी गर्न सक्ने), साइकोकिनेसिस (दिमागको शक्तिले मात्रै कुनै पनि बस्तुलाई चलाउन सकिने) र इनभिजिविलिटी (अदृश्य हुन २) दोश्रो श्रेणीका असम्भवहरुः यस अन्तर्गत विज्ञानले भर्खर भर्खर बामे सारिरहेको अवस्थामा रहेका प्रविधीहरु रहेका छन् ।

यि प्रविधीहरुको व्यवहारिक प्रयोग हुन १ लाख वर्ष वा लाखौं लाख वर्ष पनि लाग्न सक्छ । जस्तोः हाइपरस्पेश ट्राभल (प्रकाश भन्दा पनि छिटो हिड्न सकिने), ट्राभल थ्रु वामहोल (‍एउटा ब्रमाह्ण्ड बाट अर्को ब्रमाह्ण्ड मा प्रवेश गर्ने ) आदी जस्ता असम्भवहरु यो श्रेणीमा राखिएको छ ।

३) तेस्रो श्रेणीका असम्भवहरुः यस अन्तर्गत पर्ने असम्भवहरुलाई सम्भव बनाउन हालसम्मको वैज्ञानिक ज्ञानले सम्भव हुने छैन ।

किनकी यी असम्भवहरुले हालसम्म ज्ञात कुनै पनि विज्ञानका नियमहरुको पालन गर्ने छैनन् । काकुका अनुसार यस्तो अवस्था नआउन पनि सक्छ तर यदि आइहाल्यो भने विज्ञानले हालसम्म गरेका खोज, अनुसन्धान कुनै एक्काइसौं शताव्दीको दोस्रो दशकसम्म आइपुग्दासम्म मानवले विज्ञानका क्षेत्रमा असाधारण प्रगति हासिल गरेको छ ।

विज्ञानले लडाकु बिमानहरुलाइ राडारबाट समेत अदृश्य राख्न सकिने ‘स्टेल्थ टेक्नोलजी’, मानवलाई नै अदृश्य बनाउन सक्ने ‘मेटामेटेरियल’ द्वारा निर्मित बिशेष कोट, अति शक्तिशाली गोलीलाइ समेत छेक्न सक्ने अदृश्य ‘प्लाज्मा विन्डो’ आदी दैवीय शक्ति जस्ता लाग्ने प्रविधीहरुमा सफलता हासिल गर्दै गइरहेको छ ।

असम्भवको पछाडी लाग्नाले विज्ञानले समाजलाई नयाँ नयाँ आविस्कारहरु दिएर मानव जीवनलाई धेरै सहज तुल्याइदिएको छ । तर हाम्रो लागि भने अरुले सम्भव बनाएर देखाइदिएका थुप्रै सामान्य कुराहरु समेत असम्भव प्रतित हुन्छन् । हाम्रो लागि खोज, अनुसन्धान र प्रविधीको प्रयोगद्वारा समृद्ध बन्ने कुरा मात्र गर्नु पनि ‘असम्भव’ लाग्छ ।

तर गम्भीर रुपले गरिएका असम्भवहरुको खोजीले मानव सभ्यताको बिकासक्रमलाइ नै परिवर्तन गरेर अझै उच्च र सभ्य सभ्यताको बिकास गरेको छ । संसारमा अहिले समृद्ध देखीएका सबै देशहरुको अवस्था कुनै समय हाम्रो अहिलेको अवस्था जस्तै थियो अझ कसै कसैको त हाम्रो भन्दा पनि दयनीय थियो।

तर उनीहरुले समयमै विज्ञान र प्रविधीको महत्व बुझे र यसको उच्चतम उपयोगद्वारा संसारकै समृद्ध र शक्तिशाली बन्न सफल भए । जुनबेला मेक्सिको प्रिन्टीङ मसिनको प्रयोग गर्थ्यो त्यसबेला अहिलेको सर्वशक्तिमान संयुक्त राज्य अमेरिका ढुगें युगमै थियो । अहिले अमेरिका ब्रमान्ह्ड नै कब्जा गर्ने तरखरमा छ भने मेक्सिकनहरु कसरि लुकिछीपी अमेरिका प्रवेश गर्ने भन्नेमा । ६० को दशकमा दक्षिण कोरियाको अवस्था हाम्रो जस्तै थियो ।

दुइ जना साथी भाइ, इष्टमित्र भेट हुदा बिहान के खाएको र बेलुका के र कसरी खाने भन्ने कुरा मात्रै हुन्थ्यो जसरी अहिले हामी राजनीतिका कुरा गर्छौ । भारतले समेत ‘भविश्य नभएको देश’ भनेको थियो दक्षिण कोरियालाई । तर अहिले दक्षिण कोरिया कहाँ पुगिसक्यो जगजाहेर छ । अहिले दक्षिण कोरिया विज्ञान र प्रविधीमा संसारमा सबैभन्दा बढी बजेट छुट्याउने राष्ट्रहरुमध्ये पर्छ ।

आजभन्दा करिब ८५ वर्ष पहिले ग्रेट ब्रिटेनका हस्ति अर्थशास्त्री जोन मेनार्ड केन्सले सन् १९३० को चरम आर्थिक मन्दीले विश्व प्रताडित भएको बेला ‘एकनोमिक पसिविलिटीज अफ आवर ग्रान्डचिल्ड्रेन’ भन्ने पुस्तक लेखे ।आर्थिकमन्दीको त्यस्तो घनघोर निराशाका दिनहरुमा समेत त्यो पुस्तक मार्फत उनले २०औं शताव्दीको अन्ततिरव्रिटेन लगायतका अन्य औद्योगिक देशहरुको ‘चरम गरिबी’ समाप्त हुनेछ भनेर लेखे ।

उनले विज्ञान र प्रविधीको अत्यधिक उपयोगले मात्र यो सम्भव हुने कुरा उल्लेख गरे । नभन्दै अहिले आएर हेर्दा अधिकांस धनी भनिएका देशहरुमा चरम गरिबी लगभग समाप्त भैसकेको छ । तर हामीले भने विज्ञान र प्रविधीको अधिक से अधिक प्रयोग गरि गरिबीको कुचक्रबाट उम्कने प्रयास अझै गर्न सकेका छैनौ ।

             लेखक सिचाई विभागका सिनियर डिभिजनल ईन्जिनियर हुनुहुन्छ  

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी