काठमाडौँ १ जेठ ।
रेडियो मिर्मिरेमा कार्यरत पत्रकार दिवाकर चौधरीलाई महानगरीय प्रहरी प्रभाग सिंहदरबारबाट गएको एक टोलीले कुनै कारण विना गिरफ्तार गरेर केही घन्टा नियन्त्रणमा लिएको र रेडियोको प्रशारणमा केही घन्टा अवरुद्ध पारिएको घटनाप्रति नेत्र बिक्रम चन्द “विप्लव” माओबादी निकट क्रान्तिकारी पत्रकार संगठनले आपत्ति जनाएको छ।
नेपाल पत्रकार महसंघका केन्द्रिय सचिब समेत रहेका क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय संयोजक प्रभात चलाउनेले आज एक बिज्ञप्ति जारी गर्दै आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको बताएका छन।
कुनै समाचार प्रकाशन भएको भए पनि रेडियोका व्यवस्थापनलाई जानकारी गराइ त्यसबारे छलफल गर्नुको सट्टा सूचना दिने मान्छे को हो र कस्तो सामाग्री प्रशारण भएको थियो भन्ने बुझ्दै नबुझेर गिरफ्तार गर्ने प्रवृति निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ ।
बिज्ञप्तिमा आगाडी भनिएको छ “महाविनासकारी भुकम्पमा आफ्नो घर भत्किएको, आफन्त गुमेको र भुकम्पका धक्काका बीच भोकै अनिदै निरन्तर सूचना सम्प्रेषण गरिरहेका पत्रकारहरु प्रतिको राज्यको जिम्मेवार निकायको यो रवैयाप्रति हामी घोर भत्र्सना गर्दछौं ।”
यसका साथै अन्य बिभिन्न मिडिया र मिडियाकर्मीहरुमाथि निगरानी बढाइएको र धम्की दिइएका घटना पनि आएका छन् । कुनै अज्ञात व्यक्तिले आफ्नो अमुक स्वार्थमा राज्यका निकाय परिचालन नहुन पनि आग्रह गर्दछौं ।
आज बिहान ६ बज्नु अघि रेडियो मिर्मिरेको कार्यलय अनामनगरमा सई नृप बोहराको नेतृत्वमा आएको प्रहरीटोलीले भुकम्प सम्बन्धि गलत समाचार दिएको भन्दै रेडियो मिरमिरेका प्राविधिक दिवाकर चौधरीलाई हिरफ्तार गरेर लगेपछि रेडियोको बिहान ६ बजेको समाचार प्रशारण समेत रोकिएको थियो ।
बिहान सवा ६ बजे पछि रेडियो मिर्मिरेका प्रवन्ध निर्देशक कृष्ण कुमार श्रेष्ठ नेतृत्वको टोली गएर समाचार गलत नभएको प्रमाणित गरेपछी प्रहरीले गलत सूचना दिने व्यक्ति थानकोट निवासी केदार अधिकारीलाई पक्राउ गरी आवश्यक अनुसन्धान गर्ने प्रतिवद्धता जनाउदै रेडियो मिरमिरेका प्राविधिक दिवाकर चौधरीलाई छोडेको थियोे ।
त्यस्तै क्रान्तिकारी पत्रकार संगठनले राष्ट्रिय विपतीको यो घडीमा सबै संचारमाध्याम, संचारकर्मीलाई संयमित भएर समाचार सामाग्रीहरु सम्प्रेषण गर्न र कसैका हल्लाका भरमा वा पुष्टि नभएका समाचारहरु दिइयो भने जनमानसमा उत्पन्न हुन जाने त्रास र त्यसबाट हुने असरको ख्याल पुर्याउन पनि सबैमा आग्रह गरेको छ ।