बैशाख ३१ काठमाण्डौं । विभिन्न भूकम्प सम्बन्धि जानकारहरुले नेपाल भूकम्पको हिशाबले सधै जोखिममा रहने भन्दै ९ रेक्टरको भूकम्प आउने हो भने सबै भौतिक संरचना नष्ट हुने चेतावनी दिएका छन् ।
भूगर्भविद डा रञ्जन दाहालले ९ रेक्टरको भूकम्प आए नेपालको सबै भौतिक संरचना नास हुने बताउनु भयो ।
उहॉले नेपालो भूगोल नै कमजोर अवस्थामा रहेको भन्दै उत्तरी क्षेत्र अझै समस्यामा रहेको बताउनु भयो ।
ईन्जिनियर प्रेम नाथ मास्केले ९ रेक्टरको भूकम्प आए पनि केही हुदैन भन्नु गलत भएको बताउनु भयो । उहाले कुनै पनि संरचना भूकम्प प्रुफ बनाउन नसकिने स्पष्ट पार्नु भयो ।
विपद जोखिम न्युनिकरणका लागि राष्ट्रिय अभियानले आज काठमाडौंमा गरेको अन्तरक्रियामा बोल्दै उहाले माटोको संरचनानै कमजोर भएकाले उपत्यकामा धेरै क्षति भएको बताउनु भयो ।
कार्यक्रममा पूर्व गभर्नर युवराज खतिवडाले सिन्धुपाल्चोक, दोलखा, गोरखाका मानिसहरुको जीविकोपार्जन कठिन भईरहेको भन्दै उनीहरुलाई स्थान्तरण गर्दा उनीहरुको जीविकोपार्जनकका बारेमा राज्यले सोच्नु पर्ने बताउनु भयो ।
राज्यले प्रभावितहरुका लागि तत्काल रोजगारीको विकल्प सोच्नु पर्नेमा डा खतिवडाले जोड दिनु भयो ।
कार्यक्रममा मानवतावादी सोचका अध्यक्ष बद्री पाण्डेले भूकम्पले कुनै जात धर्म विषयमा मात्र प्रभाव पार्दैन भन्ने सोच हुनु पर्ने बताउनु भयो ।
अभियानका सयोजक गंगालाल तुलाधरले नेपालमा प्राकृतिक प्रकोपहरुको पहिचान भएकाले बाह्र किसिमका प्राकृतिक प्रकोपहरुको पहिचान भएकाले त्यसको सामना गर्न पूर्व तयारी गर्नु पर्ने बताउनु भयो ।