३० वैशाख, काठमाडौं । मंगलबार मध्यान्न गएको ७.३ रेक्टरस्केलको भूकम्पले दोलखाको चरिकोट बजारस्थित अरनिको डेभलपमेन्ट बैंक बसेको घर ध्वस्त हुँदा बैंकका कर्मचारीसहित ३ जनाको मृत्यू भएको छ ।
बैंकको कार्यालय बसको सो घर कान्तिपुरका पत्रकार राजेन्द्र मानन्धरको घर हो । गत बैशाख १२ गतेको ७.८ रेक्टरस्केलको भूकम्पले क्षति पुर्याएपछि सरकारी इन्जिनियरहरुको टोलीले बस्न नमिल्ने भन्दै रातो स्टिकर टाँसेका थिए । तर, बैंकका प्रमुख कार्यकारी अधिकृत र सञ्चालकहरुले कर्मचारीलाई सोही घरमा बसेर बैंकिङ कारोबार गर्न दबाब दिएका थिए ।
बैंकको शाखा रहेको सो भवन ध्वस्त हुँदा दुई जना बैंकका कर्मचारी र एक ग्राहकको मृत्यु भइसकेको र अन्य केही पुरिएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मंगलबारको भूकम्पबाट बुधबार दिउसाे एक बजेसम्म मृत्यू हुनेहरूको संख्या ५५ पुगेकाे छ ।
दोलखामा रहेका सबै बैंकका शाखामा कार्यरत कर्मचारीहरुले क्षतिग्रस्त घरमा बसेर पनि काम गर्न दबाद दिएको भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष बाहिरै बसेर काम गर्ने वातावरण मिलाइदिन आग्रह गरेका छन ।