काठमाण्डौ ,२७ वैशाख।
अपार्टमेन्ट निर्माणको स्वीकृति दिंदा करोडौं रुपैयाँको आर्थिक चलखेल हुने गरेको खुलासा भएको छ । व्यवस्थापिका संसद्को बैठकमा बोल्ने सभासदले अपार्टमेन्ट निर्माणको स्वीकृति दिँदा पहिलेका भौतिक योजना तथा पूर्वाधार मन्त्रीले करोडौं रुपैयाँ घुस लिएको बताएका थिए ।
अपार्टमेन्ट निर्माणसँग सम्बन्धित भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिवको रुपमा समेत काम गरी सचिवबाट अवकाश पाएका सभासद् जनकराज जोशीले अपार्टमेन्ट निर्माणको स्वीकृति दिँदा मन्त्रीले करोडौं रुपैयाँ घुस लिएको बताउनुभएको हो । उहाँले घुस लिएर स्वीकृति दिने पूर्वमन्त्रीको नाम भने उल्लेख गर्नुभएन।
सभासद् जोशीले घुसमा लोभिएर अन्धाधुन्धरुपमा अपार्टमेन्ट निर्माणको स्वीकृति दिनेमा भवन निर्माण विभागका उच्च अधिकृतहरु समेत संलग्न रहेको भन्दै दोषी सबैमाथि कारवाही हुनुपर्ने बताउनुभयो ।