काठमाण्डौ,२७ बैशाख ।
सिन्धुपाल्चोकका भुकम्प पीडितलाई कैलाली जिल्लाका विभिन्न संघ संस्थाले हिजो २५ लाख वरावरको राहत सामाग्री प्रदान गरेका छन । कैलालीबाट आएको राहत टोलीले हिजो साँझ जिल्ला स्वास्थ्य कार्यालय र पाल्चोक गाविसलाई राहत सामाग्री हस्तान्तरण गरेका हुन । स्वास्थ्य कार्यालयका प्रमुख डा.सागर राजभण्डारीलाई राहत टोलीले चौतारामै गएर ५० थान पानी नचुहिने टेन्ट र औषधि प्रदान गरेको हो । राहत वुझेपछि डा.राजभण्डारीले भुकम्पबाट ध्वस्त भएका २४ वटा स्वास्थ्य कार्यालयमा प्राप्त टेन्ट प्रयोग गरेर स्वास्थ्य सेवा सञ्चालन गर्ने वताउनुभयो ।
उहाँले यस्ता टेन्टको सहयोगले जनस्वास्थ्यमा सुधार ल्याउन मद्धत पुग्ने वताउनुभएको छ । जिल्ला अस्पताल समेत ध्वस्त भएपछि अहिले सदरमुकाम चौताराको खुलामञ्चमा विभिन्न देशबाट आएका रेडक्रसले स्वास्थ्य सेवा प्रदान गर्दे आएका छन । कैलालीबाट आएको राहत टोलीले पाल्चोक गाविसका प्राविधिक सहायक कृष्णवहादुर गिरीलाई पनि गाउँमै गएर राहत प्रदान गरेको छ । पुन्चोकलाई दुई सय ८० नचुहिने खालको टेन्ट, ४० कट्टा चामल, २० वोरा आलु लगायतका खाद्य सामाग्री प्रदान गरिएको छ ।
उहाँले पहिलो पटक गाविससंग सहकार्य गरेर राहत आएको वताउदै उहाँले यो राहत भुकम्पमा ज्यान गुमाएका, घाइते, एकल महिला र अति विपन्न परिवारलाई वितरण गर्ने वताउनुभयो । सिन्धुपाल्चोक जिल्लाका भुकम्प पीडितहरुले अझैसम्म अति आवश्यक राहत सामाग्री नपाएको गुनासो गरीरहेका छन । जिल्लाका पाल्चोक , नवलपुर, पिपलडाँडा गाविस र मेलम्ची वजार लगायतका क्षेत्रका भुकम्प पीडितले राहत नपाएको गुनासो गरेका हुन । यद्यपी सरकारले भने जिल्लाका अधिकांश गाविस तथा नगर क्षेत्रमा केही राहत दिइएको दाबी गरेको छ ।