प्रेमको अन्तिम कविता

प्रेमको अन्तिम कविता

  • शनिबार, बैशाख २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

प्रेमको यो अन्तिम कविता
समर्पण गर्न चाहन्छु म घोडालाई–
एउटा जब्बर घोडालाई !….

सपनाको राजकुमारको किंवदन्ती
कुनै सस्तो चकलेटको विज्ञापन जस्तो लाग्छ
चकलेटको बाहेक अरु कुरै गर्न नजान्ने
हुतिहारा राजकुमारको हत्या म आफैले गरेकी हुँ…
सार्वजनिक घोषणा
म घोडालाई प्रेम गर्छु , सगर्व प्रेम गर्छु ।

घोडा भन्छ–
‘च्यातेर फ्याँक्दे तैले आजसम्म लेखेका प्रेमका कविता
तेरो प्रेमको कवितामा केवल आदर्श मात्रै छ
प्रेमको कविता त सधैं नांगो हुन्छ
बेनकाब र बेपर्दा हुन्छ
जहाँ हर तीर्खाले पूर्णविराम भेट्छ र पर्खाइले गन्तव्य !’

म त्यही घोडाको नाममा
प्रेमको यो अन्तिम कविता लेख्दैछु
प्रेमको यो अन्तिम कविता
प्रेम शुभारम्भको जनाउ कविता पनि हो
जीवन आफैमा प्रेम–कविता भइदिएपछि
प्रेम–कविता लेखिरहनुको जरुरत हुन्न रैछ !

मलाई भोक लाग्दा
आफ्नो मनको थालीमा आफैलाई पस्केर दिन सक्ने
घोडाको दुस्साहसलाई पूजा गर्छु म
आफ्नै रगतले बनाएर स्वागतद्वार
मेरो प्रेममा प्रेमको हर परिधि नाघ्न सक्ने
घोडाको अन्र्तसंवेदनामा डुब्छु , प्रेमविभोर हुन्छु म

घोडा भन्छ–
‘म तलाई उपहारमा कहिल्यै कुनै गुलाफ दिन्न ।’
उसले यसो भनिरहदा
गुलाफका फूलहरु रोइरहेका हुन्छन् र म हासिररहेकी हुन्छु
हो, मलाई सिकाएको छ घोडाले
तमाम वैजनी रंगलाई गुलाफी रंगमा बदल्ने प्रेमको कला !

घोडामा सवार भएर होइन
घोडाको कदमसँग कदम मिलाएर
म सपनामा समेत वनजंगल र भीरपाखाहरुमा दौडिरहेकी हुन्छु
जमेको पोखरी
जम्न इन्कार गरेर वेगवान् गतिसँगै ब्युँझिरहेकी हुन्छु
प्रदीप्त भैरवलाई भैरवी बनेर अंगालोमा बेरिरहेकी हुन्छु

नझुक्किनुस् सेन्ट भ्यालेन्टाइन !
‘भ्यालेन्टाइन डे’मा मैले समर्पण गरेको प्रेमको कविता
कुनै अप्राकृतिक कविता होइन
म मेरो प्रियतमलाई
‘जब्बर घोडा’ भनेर मायाले सम्बोधन गर्छु ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी