काठमाडौं, २६ बैशाख
भुकम्पबाट निम्तिएको विपत्तीसँग जुधिरहेका राजधानीमा भाडामा बस्नेहरुका लागि फेरि अर्को समस्या देखापरेको छ । काठमाडौ, भक्तपुर र ललितपुर जिल्ला भरि भाडामा बस्नेहरुलाई घरधनीहरुले यही विपत्तीको वाहना बनाउँदै भाडा बढाउन थालेपछि उनीहरु समस्यामा परेका हुन् ।
घरधनीहरुले विभिन्न बाहाना बनाउँदै घरभाडा बढाउने, विद्यार्थीहरुलाई घरबाट निकाल्ने तथा अपमानजनक कार्यसमेत गरिन थालेपछि त्यसका विरुद्ध कानुनी कारवाही चलाइने भएको छ ।
भाडामा बस्नेहरुका यिनै समस्याहरुलाई ध्यान दिँदै प्याक्डोन नेपाल नामक संस्थाले यस्तो प्राकृतिक विपत्तीको दुरुपयोग गर्दै भाडा बढाउने र अमानवीय व्यवहार गर्नेहरुमाथि कानुनी कारवाही गर्न प्रारम्भिक चरणमा उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयमा यस विषयमा ध्यानाकर्षण गराउँदै निवेदन समेत दिएको छ ।
पहिलो दिन शुक्रबार प्याक्डोन नेपालले भक्तपुर जिल्ला प्रशासन कार्यालयमा सो निवेदन दर्ता भइसकेको र भक्तपुर जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदन कार्यान्वयन गर्न भक्तपुरका प्रमुख जिल्ला अधिकारीले जिल्ला प्रहरी कार्यालयलाई निर्देशन समेत दिइसकेका छन् । यस्तै विस्तारै देशभरका भुकम्प प्रभावित जिल्लाका प्रशासन कार्यालयहरुमा पनि यो निवेदन दिने जनाएको छ
जिल्ला प्रशासन कार्यालयमा प्याक्डोन नेपालले दिएको निवेदनमा भनिएको छ, “भुकम्पबाट भएको अकल्पनीय क्षतिको दुःखद घडीमा प्रत्येक नेपालीले आ–आफ्नो स्तर र ठाउँबाट उद्धार र पूर्न्निर्माणको कार्यमा जुट्नु पर्ने अवस्थामा ललितपुर, भक्तपुर र काठमाडौ उपत्यकाका केही घर धनीहरुले कोठा, फल्याट र घर भाडादर अत्यन्त महङ्गो गर्नकै लागीभाडा (वहाल) मा वस्नेहरुलाई कृत्रिम समस्या बनाएका छन् ।” प्याक्डोन नेपालका अध्यक्ष सहविर विश्वकर्माले अहिले भाडामा बस्ने कतिपय व्यक्तिहरु जिउधनको खतरामा समेत परेको बताए ।
उनले यस्तो गम्भीर अवस्थामा राज्यले तत्काल ध्यान दिइ यसलाई नियमन गर्नुपर्ने बताए । त्यसैका लागि आफूहरुले कानुन वमोजिम कारवाहीको दायरामा ल्याउन आफूहरुले अभियान थालेको बताए । साथै उनले यस्ता कोही कतै समस्यामा परेका भए आफ्नो संस्थामा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।
उनले महाविपत्तिको दुःखद घडीमा यस्तो कार्य गर्नु गम्भीर मानव अधिकार उल्लंघन भएको बताउदै यस्तो अवस्थामा भाडामा बस्नेहरुको हक, अधिकार र सुरक्षाको सुनिश्चिताका नेपाल सरकारसँग आफूहरुले अनुरोध गरी निवेदन दर्ता गरेको बताए ।
साथै राष्ट्रिय दुःखद घडीमा यस कार्यमा सहयोग गरिदिनु हुन नागरिक समाज, सामाजिक संघ संस्थाहरु, समाजसेवीहरु, सम्पूर्ण संचारकर्मीहरु, बुद्धिजीवीहरु, शैक्षिक संस्था, सम्पूर्ण कर्मचारीहरु, पेशा व्यवसायीहरु र आम समुदायलाई अध्यक्ष विश्वकर्माले अनुरोध गरेका छन् ।