२४ बैशाख, काठमाडौं ।
प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीको मागअनुसार आज बस्ने व्यवस्थापिका संसदको बैठकमा भूकम्पमा परी मृत्यु भएकाहरुको सम्झनामा शोक प्रस्ताव पारित हुने भएको छ । संकल्प प्रस्ताव र प्रधानमन्त्रीको सम्बोधन अर्को बैठकमा मात्रै हुने तीन दलवीच सहमति भएको छ ।
‘आज शोक प्रस्तावमात्रै पारित गर्ने सहमति भएको छ’ विहीबार बिहान बालुवाटारमा सम्पन्न तीन दलको बैठकपछि एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, ‘प्रतिपक्षीले बोलाएको बैठक भएकाले हामीले संकल्प प्रस्तावको ड्राफ्ट गरिरहेका छौं ।’
विहीबार बस्ने संसदको बैठककका एजेण्डबारे छलफल गर्न विहीबार विहान बालुवाटारमा तीन दलका शीर्ष नेताको बैठक बसेको थियो ।
बैठकमा सत्ता पक्षले संकल्प प्रस्तावको मस्यौदासमेत पेश गरेको थियो । आजको बैठकमा शोक प्रस्ताव, संकल्प प्रस्ताव र प्रधानमन्त्री सुशील कोइरालाको सम्बोधनसमेत गरी तीनटा एजेण्डा सत्तापक्षले प्रस्ताव गरेको थियो ।
बालुवाटार बैठकमा सत्तापक्षको प्रस्ताव आएपछि एमाओवादीका तीन शीर्ष नेताले केहीबेर अलग्गै छलफल गरेका थिए । त्यसपछि सत्तापक्षले प्रस्तुत गरेको संकल्प प्रस्तावको मस्यौदाको साटो आफूहरुले भिन्नै ड्राफ्ट बनाउने एमाओवादी नेताले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।
विपक्षीले बोलाएको बैठक भएकाले संकल्प प्रस्ताव विपक्षीले नै तयार पार्ने र सो प्रस्ताव सत्तापक्षलाई पनि चित्त बुझ्ने गरी बनाइने एमाओवादी नेताले बैठकमा बताएका थिए ।
व्यवस्थापिका संसद नियमावली अनुसार संकल्प प्रस्ताव पारित गर्नका लागि वैठकपूर्व नै संउसद सचिवालयमा दर्ता गरिनुपर्छ ।
तर, अहिलेसम्म संसदल सचिवालयमा प्रस्ताव दर्ता नभएकाले आजै संकल्प प्रस्ताव प्रस्तुत नहुने सचिवालय स्रोतले अनलाइनखबरलाई बतायो ।
स्रोतका अनुसार प्रधानमन्त्रीले विहीबार नै संसदमा संवोधन गर्ने आग्रह सत्तापक्षका नेताहरुले सभामुख सुवासचन्द्र नेम्वाङसमक्ष गरेका थिए ।
तर, सभामुख नेम्वाङले समेत शोक प्रस्ताव प्रस्तुत गर्ने दिनमै प्रधानमन्त्रीले सम्बोधन गर्नुभन्दा अर्को बैठकमा सम्बोधन गर्दा राम्रो हुने सुझाव दिएपछि प्रधानमन्त्रीको सम्बोधन पनि पछि सरेको स्रोतले बतायो ।
यस्तो राष्ट्रिय विपतिको समयमा सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढ्न आफूहरु तयार रहेको एमाओवादी नेताले बैठकमा बताएका थिए ।
यसैवीच प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादीलाई सरकारमा आउन आग्रह गरेको चर्चा चले पनि यसबारे कुनै छलफल नभएको एमाओवादी उपाध्यक्ष नारयणकाजी श्रेष्ठले अनलाइनखबरलाई बताए । उनले भने( ‘यसबारे छलफल भएन, आजको छलफल संसदको बैठकमै केन्द्रित रह्यो ।’
स्रोतका अनुसार आज शोक प्रस्ताव पारित गरेपछि संसदको अर्को वैठक शुक्रबार १ बजे राख्ने सचिवालयको तयारी छ ।