बैशाख २३ काठमाण्डौं । नेपालमा लगानी थोरै देखाएर अरबौंको आमदानी गरीरहेको बहुराष्ट्रिय दुरसञ्चार सम्बन्धि कम्पनी एनसेलले चीनबाट रेडक्रसको स्टीकर लगाएर सामान ल्याउनुको रहस्य के हो भनी अहिले खोजी शुरु भएको छ ।
खास गरी चीनबाट रेडक्रस मार्फत आएको राहत सामाग्री भित्र एनसेलको दुरसञ्चार सम्बन्धि उपकरण ल्याएको पत्ता लागे पछि भन्सार विभागले यसलाई रोकेको छ । दुरसञ्चार सम्बन्धि कुनै कागजात विनानै उपकरण ल्याए पछि नेपाली भन्सार अधिकारीहरु ससकित बनेका थिए ।
कार्टुन भन्दा ठूला १३ वटा प्याकेटमा ती सामाग्री रहेका छन् । चाईना साउदर्न विमानबाट ती सामाग्री त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आएको थियो ।
सामान पत्ता लगाएर रोकिए पछि एनसेलमा सरकारी अधिकारीहरुले फोन गरेर जानकारी गराए पनि एनसेलका प्रतिनिधिहरु सो सामाग्री छुटाउन या बुझ्न अझै गएका छैनन् ।
एनसेलले भन्सार छलेर ठूलो सामाग्रीहरु ल्याउन खोजेपछि भूकम्प पीडितका लागि उसले दिने भनेको १ अर्ब १० करोड रुपैया स्वीकार गर्ने कि नगर्ने भन्नेमा मन्त्रीपरिषद् सदस्यहरुबीच विवाद देखिएको छ ।
दुरसञ्चार प्राधिकरणको अनुमति विना ल्याउनै नमिल्ने सामान कसरी नेपाल आयो ? यदी अनुमति थियो भने त्यो सामान किन रेडक्रसको स्टीकर भित्र आयो निकै रहस्यको विषय बनेको छ ।
भन्सार अधिकारीहरुले सरकारले भूकम्प पीडितको राहतका लागि आउने सामाग्रीमा भन्सार नलाग्ने जनाए पछि भन्सार छल्न एनसेलले यस्तो गरेको हुन सक्ने आशका गरे ।
स्रोतका अनुसार बिटिएस टावर मर्मतका लागि चीनको जेटिई मोबाईल कम्पनीबाट उक्त सामाग्री ल्याउन केही समय अघि एनसेलले दुरसञ्चार प्राधिकरणसग‘ अनुमति भने लिएको देखिएको छ ।
तर यो सामान त्यही हो होईन एकीन भईनसकेको दुरसञ्चार प्राधिकरणका अध्यक्ष दीगम्बर झाले बताउनु भयो । भन्सार स्रोतले आवस्यक जरीवाना र भन्सार शुल्क तिरे पछि सामान छाड्ने बताएको छ ।