भूकम्प प्राकृतिक घटना हो । त्यसलाई नियन्त्रण गर्नु मानिसका लागि सम्भव छैन । तै पनि बुद्धिमत्तापूर्ण मानवीय व्यवहार र कुशल व्यवस्थाद्वारा भूकम्पद्वारा सम्भावित क्षतिहरूलाई काफी हदसम्म कम गर्न सकिन्छ । त्यस प्रकारका व्यवहार वा व्यवस्था भूकम्प पहिलेका वा पछिका दुवै हुन सक्दछन् । जमीनको भूगर्भीय बनावटमाथि ध्यान दिएर वा भूकम्प प्रतिरोधक तरिका अनुसार घरको निर्माण गरेमा भूकम्पबाट हुने क्षतिलाई धेरै नै कम गर्न सकिन्छ । भर्खरै नेपालमा एउटा महाभूकम्पको घटना घटिसकेको छ । त्यसबाट अहिले जेजति क्षति पुगेको छ, त्यसका पछाडि पनि घर वा वस्तीहरूको निर्माणमा जमीनको भू–गर्भीय बनावट वा घरको निर्माणमा भूकम्प प्रतिरोधक पद्धतिलाई नअपनाउनुको परिणाम हो । यी अनुभवहरूबाट शिक्षा लिदै भविष्यमा घरहरू बनाउन मात्र होइन, वस्ति वा घरको निर्माणमा भूगर्भीय संरचना र भूकम्प प्रतिरोध पद्धति अपनाउने कुरामा विशेष ध्यान दिनु पर्दछ । निश्चय नै यो दीर्घकालिन र भविष्यमा विचार गर्ने कुरा हो । तात्कालिक रूपमा भूकम्पद्वारा पैदा भएका क्षतिलाई कसरी कम गर्ने ? त्यतातिर नै हाम्रो बढी ध्यान दिनुपर्ने आवश्यकता छ ।
अहिलेको भूकम्पद्वारा ठूलो भौतिक धनजनको क्षति भएको छ । भूकम्पमा मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या करिब १० हजारभन्दा बढी हुने अनुमान गरिएको छ भने घाइतेहरूको सङ्ख्या करिब १५ हजार पुगिसकेको छ । करिब २ लाख घरहरू भत्केका छन् । ९० सालको भूकम्पपछि यो नेपालको इतिहासमा नै भूकम्पद्वारा पुगेको अत्यन्त ठूलो क्षति हो । त्यो क्षतिले खालि तात्कालिक रूपले मात्र ठूलो क्षति पुर्याएको छैन । त्यसका दीर्घकालिन रूपमा कति गम्भीर परिणामहरू हुनेछन् ? त्यो पनि गम्भीर प्रकारको विचारणीय प्रश्न हो । अर्कातिर त्यो भूकम्प र त्यसपछि पैदा भएको स्थितिले सरकार र सम्पूर्ण समाजको संरचना कुन प्रकारको छ ? त्यसमाथि पनि प्रकाश हाल्नेछ । सरकार र समाजको संरचना सन्तोषजनक भएमा भूकम्पद्वारा उत्पन्न समस्यालाई राम्ररी व्यवस्था गर्नु वा समाधान गर्नु सम्भव हुनेछ । यदि त्यसबारे राम्रो व्यवस्था हुन सकेन भने यो कुरा प्रष्ट हुनेछ कि हाम्रो देशको राजनीतिक व्यवस्था, सरकार वा प्रशासनको स्वरूपमा मात्र होइन, समाजको स्वरूपमा नै गम्भीर प्रकारको कमजोरी भएको कुरा अगाडि आउने छ । त्यसले खालि भूकम्पका सन्दर्भमा मत्र होइन राजनीतिक, आर्थिक वा सामाजिक रूपमा पनि देशलाई लगातार र गम्भीर प्रकारले क्षति पुर्याइरहने छ । भूकम्पका सन्दर्भमा त्यसले तात्कालिक रूपमा पुर्याएको क्षति प्रति ध्यान दिनुका साथै आजको राजनीतिक व्यवस्था, सरकार, प्रशासन तथा समाजको स्वरूपमा सुधार वा परिवर्तनका लागि पनि हामीले गम्भीर रूपले ध्यान दिनुपर्ने आवश्यकता हुनेछ ।
अहिले भूकम्पको सन्दर्भमा देशभित्रबाट र बाहिरबाट पनि भूकम्प पीडित जनताका लागि ठूलो पैमानामा राहतका लागि पैसा वा अन्य भौतिक सामाग्रीहरूको सहायता प्राप्त भइरहेको छ । तर समस्या के हो भने जेजति सहायता प्राप्त भइरहेको छ, त्यसको सही र सन्तोषजनक प्रकारले उपयोग हुन सकिरहेको छैन । भूकम्प, त्यसपछि सहायताको वितरण र व्यवस्थाको सन्दर्भमा वा सरकारको सम्पूर्ण संयन्त्र अत्यन्त अक्षम र भ्रष्ट भएको कुरा प्रष्ट भएको छ । भूकम्प पीडित जनताका लागि आएको राहतको पनि समुचित प्रकारले वितरण हुन सकेको छैन । भूकम्प आएको यतिका दिन भइसक्दा पनि जनतालाई सन्तोषजनक प्रकारले राहतको वितरण हुन सकेको छैन । त्यो बाहेक अर्को गम्भीर समस्या यो हो कि राहतको वितरणमा गम्भीर प्रकारले भेदभाव, हिनामिना वा भ्रष्टाचार हुने गरेको छ । माथिल्लो तहमा राहतका लागि आएको पैसा वा सामाग्रीहरूको कति हिनामिना वा भ्रष्टाचार भइरहेको छ ? त्यसबारे आधिकारिक रूपमा कुनै जानकारी प्राप्त भएको छैन । तर स्थानीय तहमा राहतको वितरण गर्दा त्यस प्रकारको भेदभाव वा भ्रष्टाचारसम्बन्धी कैयौँ तथ्यहरू अगाडि आएका छन् । कैयौँ गाउँहरूमा, काभ्रे वा सिन्धुपाल्चोकका गाउँहरूमा भ्रमण गर्दा प्रत्यक्ष रूपले नाम मात्रको राहत सामाग्री वितरण गरेर राहत बुझेको कागज गराउने गरेको कुरा थाहा भएको छ । कैयौँ दुर्गम क्षेत्रहरूमा राहत सामाग्री पुगेको छैन । साधनको उचित व्यवस्थाको अभावमा राहत सामाग्रीहरू जिल्लाहरूमा पुगेका छैनन् वा जिल्ला सदरमुकाममा थन्किर बसेका छन् । यी सबै अत्यन्त गम्भीर समस्या हुन् । यस प्रकारको प्रणालीको कारणले गर्दा राहत सहायता वा सामाग्री जति जम्मा भएपनि त्यसबाट भूकम्प पीडितलाई सन्तोषजनक प्रकारले फाइदा हुने सम्भावना कम रहने छ । सरकारको कार्यप्रणाली वा प्रशासन यन्त्रमा भएका असङ्गति वा अक्षमताका कारणले विकासका लागि छुट्टाइएको अरबौँ रूपैयाँ खर्च हुन नसकेको कुरा बारम्बार प्रकाशमा आउने गरेको छ । अहिले भूकम्प पीडितका लागि आउने सहायताको ठूलो अंश जनताका बीचमा नपुग्ने, बीचैमा उपयोग नभइकन रहने वा भ्रष्टाचार हुने ता होइन ? ती गम्भीर प्रश्नहरू पनि हाम्रा अगाडि छन् ।
कुरा सरकार वा प्रशासनको मात्र होइन । अहिलेको भूकम्पको सन्दर्भमा समाजको मनोविज्ञान पनि गम्भीर प्रकारको कमजोरीहरू भएको कुरा थाहा भएको छ । भूकम्पद्वारा पैदा भएको स्थितिमा कालोबजारी बढेर गएको छ । उपभोग्य सामाग्री लुकाएर कतिपय अभावको स्थितिको सिर्जना गर्ने, मूल्य बढाउने आदि काम गर्ने गरेका छन् । भूकम्पद्वारा जनता ठूलो सङ्कटमा परेको अवस्थामा त्यही मौकाको फाइदा उठाएर सम्पत्ति आर्जन गर्ने प्रयत्नहरू पनि हुने गरेका छन् । यहाँसम्म कि कतिपय स्थानहरूमा भूकम्पका लागि आएको राहत सामाग्रीहरूलाई बिचैमा बेच्ने गरेका समाचारहरू पनि प्राप्त हुने गरेका छन् । भूकम्पको घटनाले ठूलो सङ्ख्यामा मानिसहरू घर वा काठमाडाँै छाडेर बाहिर गएका छन् । त्यही मौकामा चोरहरूले चोरीका कारवाहीहरू बढाएर लगेका छन् । कर्मचारी वा पहुँच भएका व्यक्तिहरूले भूकम्प पीडित जनताको सहायताका लागि आएका सामाग्रीहरूमा भ्रष्टाचार गर्ने वा कब्जा गर्ने प्रयत्न गर्दैछन् । भूकम्पमा घर नभत्केका वा घरमा कसैको मृत्यु नभएका व्यक्तिहरूले पनि भूकम्प पीडितको सहायताका लागि आएका सामाग्री लिने प्रयत्न गरेका पनि कैयौँ उदाहरणहरू छन् । ठूला र प्रभावकारी राजनीतिक दलहरूले भूकम्प पीडित जनताका लागि आएको पैसा वा सामाग्रीहरूलाई भागबण्डा गर्ने प्रयत्न गर्दैछन् । यस्ता कैयौँ कुराहरूले अहिलेको सम्पूर्ण सामाजिक संरचना वा सामाजिक मनोविज्ञानमा गम्भीर प्रकारको कमजोरी भएको कुरालाई बताउँछ । त्यस प्रकारको मनोविज्ञानले पनि भूकम्प पीडित जनताको सहायता वा अहिले देशमा पैदा भएको सङ्कटको समाधानका धेरै नै बाधा पुग्ने छ ।
अहिले सरकार, प्रशासन र समाजमा पनि भूकम्पद्वारा पैदा भएको समस्या वा सङ्कटको समाधानमाभन्दा पनि त्यो स्थितिबाट व्यक्तिगत रूपमा फाइदा उठाउने जुन प्रकारको व्यक्तिवादी दृष्टिकोण देखापरेको छ, त्यो वास्तवमा गम्भीर समस्या हो । त्यस प्रकारको सामाजिक मनोविज्ञानले पनि सरकार, प्रशासन, राजनीतिक दलहरू वा जनताका विभिन्न जनसमुदायहरूसित सम्बन्धित व्यक्तिहरूलाई सही प्रकारले आफ्नो कत्र्तव्य पालन गर्न बाधा पुराउने छ । त्यसकारण अहिलेको सन्दर्भमा भूकम्प पीडित जनतालाई बढीभन्दा बढी सहायता गर्ने कुरामा ध्यान दिनुका साथै अहिलेको राजनीतिक व्यवस्था र समाजको सांस्कृतिक स्तरमा सुधार वा परिवर्तनप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । अन्यथा अहिलेको भूकम्प वा त्यही प्रकारको कुनै प्राकृतिक विपद आए पनि वा नआए पनि हाम्रो देश र समाजको राजनीतिक, आर्थिक वा सामाजिक उन्नती अवरुद्ध भइरहने छ । २०६२–६३को महान जनआन्दोलनका उपलब्धीहरूको रक्षा वा संविधानको निर्माणजस्तो ऐतिहासिक र राष्ट्रिय कार्यमा जसरी गत्यावरोधको स्थिति उत्पन्न भएको छ, त्यसका पछाडि पनि त्यही प्रकारको मनोविज्ञानले काम गरेको कुरा बुझ्न गाह्रो पर्दैन ।
अहिलेको भूकम्पका बेलामा विदेशबाट ठूलो पैमानामा सहायता प्राप्त भएको छ । त्यो स्वागत योग्य कुरा हो । तर त्यस प्रकारको सहायताको आडमा कैयौँ प्रकारका अवांन्छित गतविधिहरू पनि हुने गरेका छन् । त्यस सन्दर्भमा भारतीय सरकारद्वारा नेपालको उत्तरी सीमामा जासूसीसम्बन्धी क्रियाकलापहरू भएका कुराहरू पनि अगाडि आएका छन् । नेपालमा सहायताका नाममा ठूलो सङ्ख्यामा भारतबाट हेलिकप्टरहरू आए । तर सरकारले भूकम्प पीडित जनताको सहायता वा उद्धारका लागि चीनले पठाउन खोजेका हेलिकप्टरलाई नेपालमा आउने अनुमति दिइएन । बताइरहनुपर्ने आवश्यकता छ कि त्यसका पछाडि भारतीय दवावले नै काम गरेको थियो । त्यसरी अहिले भूकम्पको सन्दर्भमा पनि नेपाल सरकार स्वतन्त्र रूपले काम गर्नसक्ने अवस्था छैन भन्ने कुरा प्रष्ट भएको छ । भूकम्प पीडित जनतालाई राहत वितरण गर्ने बेलामा इसाई धर्मावलम्बीहरूद्वारा ठूलो सङ्ख्यामा वाइवल वितरण गर्ने कार्य भएको छ । थाहा भए अनुसार कतिपय विदेशी राष्ट्रहरूबाट प्लेनद्वारा ठूलो सङ्ख्यामा नेपालमा वाइवल पठाउने कार्य पनि भएको छ । भूकम्प पीडित जनतालाई सहायताका आडमा त्यसरी इसाई धर्मलाई प्रचार गर्ने जुन प्रयत्न गरिएको छ, त्यो अत्यन्त अवांछित कार्य हो । यी केही उदाहरण हुन् । समग्ररूपमा के भन्न सकिन्छ भने भूकम्प पीडित जनतालाई सहायताका नाममा देशमा कैयौँ प्रकारका राष्ट्रविरोधी वा षडयन्त्रकारी कार्यहरू पनि हुने गरेका छन् । नेपालको राष्ट्रियता, सार्वभौमिकता वा अखण्डतामा आँच पुग्ने त्यस प्रकारका गतिविधिहरू प्रति जनचेतना उठाउनेतिर हाम्रो प्रयत्न हुनुपर्दछ ।
अहिलेको भूकम्पको सन्दर्भमा तराईमा क्षेत्रीयतावादी प्रचारलाई बढाउन प्रयत्न भइरहेको कार्यप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । त्यहाँ भूकम्प पीडित जनताका लागि काठमाडौँ वा पहाडमा मात्र सहायता दिने काम भइरहेको छ र मधेशलाई उपेक्षा गर्ने काम भइरहेको छ भन्ने प्रचार गर्ने काम भइरहेको समाचारहरू प्राप्त भइरहेका छन् । वास्तविकता यो हो कि, सरकारको अक्षमता, प्रशासनिक कार्य कुशलताको कमी, भ्रष्टाचार आदिका कारणले स्वयं राजधानी वा पहाडका पनि दूरवर्ती स्थानहरूमा पनि सन्तोषजनक रूपले वा जनताका बीचमा राहतको वितरण हुन सकिरहेको छैन र त्यो कारणले जनतामा असन्तोष छ । त्यही प्रकारको स्थितिमा तराइका भूकम्प पीडित क्षेत्रहरूमा पनि सन्तोषजनक प्रकारले सहायता पुर्याउने काम हुन सकेको छैन । त्यस प्रकारको अवस्थामा तराई प्रतिको भेदभावपूर्ण दृष्टिकोणका कारणले नै त्यहाँ राहतको वितरण भएको छैन भन्ने प्रचारलाई सही भन्न सकिन्न । वास्तविकता यो हो कि सरकारको गलत प्रकारको कार्यप्रणाली वा भ्रष्ट कार्यपद्धतिका कारणले नै राजधानी र पहाडी क्षेत्रहरू जस्तै तराईमा पनि पर्याप्त रूपले सहायता प्रदान गर्ने काम हुन सकेको छैन । त्यसकारण देशका सबै भागहरूमा त्यहाँ भएका क्षतिहरूका अनुपातमा सहायता प्रदान गर्न व्यापक रूपले आवाज उठाउने वा जनदवावको सिर्जना गर्ने हाम्रो प्रयत्न हुनुपर्दछ ।
राहत सामाग्रीहरूको वितरण कसरी गर्ने ? त्यसबारे पनि एउटा विवाद पैदा भएको छ । सरकारले एकद्वार प्रणाली अपनाएर सबै सहायता सरकारी संयन्त्रद्वारा मात्र वितरण गर्नुपर्दछ भन्ने कुरामा जोड दिइएको छ । त्यस सिलसिलामा गैरसरकारी संस्थाहरूद्वारा विभिन्न बैङ्कहरूमा राहतका लागि खोलिएका बैङ्क खाताहरूमा जम्मा भएका रकमहरूलाई पनि राष्ट्रिय बैङ्कको नियन्त्रणमा लिने सरकारले निर्णय गरेको छ भन्ने कुरा प्रचारमा आएको छ । अहिले सरकार वा प्रशासनले नै सन्तोषजनक प्रकारले राहतको वितरण गर्न नसकेको वा त्यसमा हिनामिना र भ्रष्टाचार समेत हुने गरेको पृष्ठभूमिमा सम्पूर्ण राहत सामाग्रीहरूको सरकारले एकद्वार प्रणालीद्वारा वितरण गर्ने कार्यलाई सही मान्न सकिन्न । त्यसकारण विभिन्न राजनीतिक पार्टी, सङ्घसंस्था वा व्यक्तिहरूलाई पनि आफ्नो प्रकारले राहत सङ्कलन गर्ने वा वितरण गर्ने अधिकार हुनुपर्दछ । त्यस प्रकारको कार्यमा सरकारले कुनै प्रतिबन्ध लगाउनु अवश्य पनि सही हुने छैन । त्यसरी गैर सरकारी संस्था वा व्यक्तिहरूद्वारा राहत सामाग्रीको सङ्कलन गर्दा जतिधेरै सङ्कलन हुन सक्ने छ, सबै उठेको रकम सरकारको कोषमा जम्मा गर्ने नीति अपनाइयो भने त्यति धेरै रकम उठ्न सक्ने छैन । त्यसरी सरकारी वा गैर–सरकारी स्तरमा बढीभन्दा बढी राहतका लागि पैसा वा सामाग्रीहरूको सङ्कलन भएर जनताका बीचमा पुग्दछ भने त्यसमाथि रोक लगाउने कार्यलाई कुनै अवस्थामा पनि सही भन्न सकिन्न । अहिले समाजमा जुन प्रकारको सार्वजनिक आम्दानीबाट पनि व्यक्तिगत फाइदा उठाउने मनोवृत्ति विद्यमान छ, त्यसले गर्दा सरकारी स्तरमा जस्तै गैरसरकारी स्तरमा पनि राहतका लागि उठेको चन्दामा भ्रष्टाचार हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । त्यस प्रकारको भ्रष्टाचार हुन नदिन सम्बन्धित संस्था वा सरकारले पनि सबै सम्भव तरिकाले प्रयत्न गर्नुपर्दछ । त्यसरी राहतका लागि गरिने सङ्कलन वा वितरणको कार्यलाई पारदर्शी बनाउने हिसाबलाई व्यवस्थित राख्ने वा जाँच गर्नेतिर सबैको ध्यान जानुपर्दछ ।
भूकम्पका कारणले ठूलो सङ्ख्यामा मानिसहरूको मृत्यु भयो । तर बाँचेकाहरू उनीहरूले लामो समयसम्म, यहाँसम्म कि भावी पुस्ताले पनि लामो समयसम्म अहिले भूकम्पले पुर्याएको क्षति वा त्यसको विभिन्न प्रकारको असरलाई सामना गर्नुपर्नेछ । भूकम्पद्वारा हजारौँको सङ्ख्यामा मानिसहरू घाइते भएका छन् वा अङ्गभङ्ग समेत भएको छ । भूकम्पका कारणले कैयौँ सुत्केरी र केटाकेटीहरूको जीवनमा ठूलो समस्या पर्नेछ । एउटा मानिसले जनमभरि परिश्रम गरेर एउटा घर बनाएको हुन्छ । अब भत्केको घरको पुनोरोद्धार गर्नु सजिलो हुने छैन । घरमा जुन अन्न, सम्पत्ति, कपडा आदिको क्षति भएको छ, त्यसको पूर्ति गर्नु पनि सजिलो हुने छैन । केटाकेटीहरूका अभिभावक, पति वा परिवारको संरक्षकको मृत्य वा अङ्गभङ्ग भएकाले लाखौँ व्यक्तिहरू असहाय बनेका छन् । ती सबैमा भौतिक क्षतिका साथै मानिसहरूको मनोविज्ञानमा जुन गम्भीर आघात पुगेको छ, त्यसले पनि समाजलाई लामो समयसम्म आघात पुराइरहने छ । त्यसकारण अब सरकारले पुर्नरोद्धार वा पुनर्वासको दीर्घकालीन योजना बनाएर यी समस्याहरूलाई समाधान गर्ने प्रयत्न गर्नुपर्दछ । तात्कालिक रूपमा राहत वा घाइतेहरूको उपचारमा बढीभन्दा बढी मद्दत गर्नुका साथै भूकम्पका कारणले उत्पन्न भएको सामाजिक समस्याको समाधानका लागि दीर्घकालिन योजना बनाएर काम गर्नेतिर पनि सरकार र राजनीतिक पार्टीहरूको विशेष ध्यान जानुपर्ने आवश्यकता छ । तर यस सन्दर्भमा भूकम्पका कारणले देशभित्र वा बाहिरबाट ठूलो पैमानामा जम्मा हुने आर्थिक सङ्कलनलाई व्यक्तिगत फाइदाका लागि उपयोग गर्ने दृष्टिकोणले काम गर्यो भने अहिलेको स्थिति वा दीर्घकालिन योजना बनाएर देश र जनताका समस्याहरूको समाधान गर्ने वा विकास कार्यलाई अगाडि बढाउने काम हुन सक्ने छैन । त्यो अवस्थामा अहिले भूकम्पका कारणले पैदा भएको स्थितिको परिणामस्वरूप देशमा झन् बढी अवन्नती हुँदै जानेछ ।
अहिलेको भूकम्पले पुर्याएको क्षतिबारे एउटा अर्को दृष्टिकोणले पनि विचार गर्नुपर्ने आवश्यकता छ । यो संयोगको नै कुरा थियो कि अहिलेको भूकम्प दिनको समयमा र शनिबारको दिन गयो । यदि त्यो भूकम्प रातको समयमा वा शनिबार बाहेक अन्य दिनमा गएको भए त्यसबाट पुग्ने क्षति अहिलेभन्दा कैयौँ गुणा बढी हुने थियो । अहिलेको भूकम्पद्वारा विद्युतका लाइन, पानीका पाइप, राजमार्ग आदि बिग्रेका छैनन् । ती बिग्रेको भए भूकम्पद्वारा पुग्ने क्षति अरू व्यापक र भयानक हुन्थ्यो । अहिलेको भूकम्प धेरै नै ठूलो थियो तर त्यो धेरै बेरसम्म रहेन । ती सबै कारणले गर्दा अहिले भूकम्पद्वारा हुनसक्ने कैयौँ गुणा बढी क्षतिभन्दा कम क्षति भएको छ । तैपनि अहिले भएको क्षति कम छैन र त्यो क्षतिलाई पूरा गर्नका लागि सारा देश जनता, राजनीतिक दल, सङ्घ–संस्थाहरू समेत युद्धस्तरमा लाग्नूपर्ने आवश्यकता छ । त्यसरी नै थोरै समयमा नै हामीले भूकम्पद्वारा पुगेको क्षतिलाई कम गर्न सक्ने छौँ ।
अन्तमा एउटा कुरा । ९० सालमा ठूलो भूकम्प गयो । तर केही समयमा जनताले त्यसलाई भूले र उनीहरू नयाँ प्रकारले बाच्न थाले । भूकम्पद्वारा मानिसहरूको जुन ठूलो सङ्ख्यामा मृत्यु भयो, त्योभन्दा कैयौँ गुणाबढी मानिसहरूको विभिन्न प्रकारका रोग, बुढेसकाल, दुर्घटना आदिद्वारा मृत्यु हुने गर्दछ । तैपनि मानिसहरूले केही समयपछि ती सबै चीजलाई भुल्दछन् र नयाँ प्रकारले आफ्नो जीवन विताउने प्रयत्न गर्दछन् । त्यही कुरा अहिले भूकम्पले पुर्याएको क्षतिका सन्दर्भमा पनि सत्य हो । अहिले भूकम्पद्वारा जतिधेरै क्षति पुगेको भए पनि त्यो अस्थायी कुरा हो र छिटै नै मानिसहरूले पुनः स्वाभाविक प्रकारले जीवन विताउन थाल्नेछन् । त्यसैले हामीहरू भूकम्पका कारणले पुगेको क्षतिद्वारा आत्तिन वा निराश हुन हुन्न । तर झन् नयाँ प्रकारले जीवनको निर्माण तथा देशको विकास गर्नेतिर लाग्नु पर्दछ । जनतामा अजय शक्ति छ । उनीहरूले सधैँ सबै प्रकारका विपदहरूमाथि विजय प्राप्त गरेर जीवनको प्रवाहलाई अगाडि बढाउने काम गर्दै आएका छन् । त्यही कुरा अहिलेको महाभूकम्पका सन्दर्भमा पनि सत्य हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline