काठमाडौ ,२१ वैशाख । आज २५ सय ५९ औं बुद्धजयन्ती , गत शनिबारको भूकम्पमा ज्यान गुमाएकाहरुको लागि मोक्ष प्राप्ति तथा घाईतेहरुको स्वास्थ्य लाभको कामना गरी मनाइयो । अघिल्ला वर्षहरुमा भए आजका दिन धुमधामका साथ बुद्ध जयन्ती मनाइन्थ्यो ।
शान्तिका अग्रदुत गौतम बुद्धको जन्म ईशापूर्व ५ सय ६३ मा हालको लुम्विीनीमा वैशाख शुकल पूर्णिमा आजकै दिनमा भएको थियो ।
उहाले ३५ वर्षको उमेरमा आजकै दिन बुद्धत्व प्राप्त गर्नु भएको थियो भने ८० वर्षको उमेरमा आजकै दिन भारतको कुशीनगरमा मृत्यु भएको थियो । यसकारण पनि बौद्धमार्गी हरुले आजको दिनलाई विशेष रुश्रपमा लिने गरिन्छ ।
बुद्ध जयन्ती भव्यताका साथ मनाउनका लागि डेढ महिना अघिदेखि तयारी गरिएको भएपनि देशमा भूकम्पका कारण परेको विपत्तिका कारण कार्यक्रम परिमार्जन गरिएको थियो ।
उता , यस वर्ष बुद्धका अनुयायीहरुले अघिल्लो बर्षहरुमा जस्तो शान्तिको सन्देश छर्न सकेनन् । शान्तिको सन्देश प्रवाह गर्ने स्वयम्भूमा भेटिएका बुद्धका अनुयायीहरु महाभूकम्पको पीडामा बुद्ध पुकारिरहेका थिए ।
राष्ट्रिय बुद्धजयन्ती मूल समारोह समितिका संयोजक एवम् लुम्विनी बौद्ध विशवविद्यालयका उपकुलपति प्राध्यपक डा. नरेशमान वज्राचार्यका अनुसार सम्पूर्ण बौद्ध संघ संस्थालाई पीडितको उद्धार तथा राहतमा सहयोग पुर्याउन आग्रह गरिएको छ ।
यसैंबीच राष्ट्रपति डा. रामवरण यादवले बुद्ध जयन्तीका अवसरमा सन्देश दिनुहुदै उहाँले गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरि निर्वाण भएको दिनमा सबै नेपालीमा आपसी सद्भाव, मेलमिलाप र सहअस्तित्वको भावना अझ प्रगाढ तुल्याई प्राकृतिक प्रकोपबाट उत्पन्न अवस्थालाई सामान्यीकरण गर्न सबैलाई सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।
यस्तै बुद्धजयन्तीको अवसरमा शुभाकामना दिनु हुदै प्रधानमन्त्री सुशील कोइरालाले विश्वभरका बुद्ध धर्मावलम्बीहरुलाई बुद्धका वाणी र व्यवहारलाई स्मरण गरी भूकम्प पीडितलाई मन ,वचन र कर्मले सहयोग गर्न अनुरोध गर्नुभएको छ ।