सिन्धुपाल्चोक, १८ बैशाख ।
गत शनिवार गएको विनाशकारी महाभूकम्पले यो समाचार तयार पार्दा सम्म ५ हजार ६ सय ३० जनाको ज्यान लिईसकेको छ भने ७ हजार ६ सय ७९ जना गम्भिर घाईते भएका छन् । विनाशको ताण्डव नृत्य देखाउदै आएको महाभूकम्पले सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, काभे्र, गोरखा, धादिङ लगायतका जिल्लामा अन्य जिल्लाको भन्दा धेरै क्षति गरेको छ ।
त्यसै गरी खरबौ रुपैया बराबरको आर्थिक क्षति भएको छ । मानिस मात्र होईन मानिसहरुको आश्रयमा बाँच्ने हजारौं पशुपंक्षी समेत चीर निद्रामा परेका छन् । ६ दिन वितिसक्दा पनि ५ दशमलव ९ रेक्टर स्केलको यो भयानक महाभूकम्पको संत्रासबाट मुक्ती पाउन सकिएको छैन । त्यति मात्र नभएर लडेमाथि मुड्की भने झै भूकम्पसंगै आएको निरन्तरको वर्षाले जनजीवन अझै प्रभावित भएको छ ।
आकाशमा उद्धार तथा राहत वितरणका नाममा सैयौं विमान उडेको देखिए पनि त्यो मात्र गिज्याउने जस्तो भएको पिडीतहरु बताउँछन् । भूकम्प पछि देशैभर एकै किसिमका दुःख, पिडा र वेदनाले छोपेको छ भने आफ्न्त गुमाउँदाको पिडा अनि सुक्न नसकेका आँसुसँगै खुला आकाशमुनी को बास र भोकको सिंगो मुलुक शोकमा डुबेको छ ।
समाचार शंकलनका सिलसिलामा महाभूम्पको ५ औं दिन सिन्धुपाल्चोक जिल्लाको साँगाचोक गा।वि।स मा पुग्दा देखिएको त्यो दर्दनाक अनि भयावह फिचर तस्विर अवको क्रममा ः
वि।सं।२०७२ बैशाख १२ गते शनिवार, मध्यान्ह ११ः५६ वजे
मन्द घाम अनि सिरसिरे हावामा कोहि दलानमा ढल्किरहेका थिए, कोहि आँटामा पल्टिरहेका थिए, कसैलाई खाना खाएर पसल खोल्ने त कसैलाई गाईवस्तु चराउने हतारो थियो । कतिपय आमाहरु खाना खाँदै थिए अनि कति चाँहि खाजाको तयारीमा छोराछोरी र नातिनातीनाससँग चुलो चौका, आँगन र दलान गर्दैथिए, कुनै कुनै घरमा आमाहरु नानीहरुलाई काखमा राखेर फुल्याईरहेका थिए । केटाकेटीहरु आँगन, वारी अनि खेतका गराहरुमा रमाईरहेका थिए । समय उस्तै थियो ।
साँगाचोकको चहल पहलमा कुनै कमि आएको थिएन । सडकमा मोटरसाईकल र गाडिहरु गुडिरहेका थिए । चोक नजिकैको वरको पुरानो रुखको छहारीमा टाढा टाढाका दृश्य हेर्दै बुढाबुढी अनि तन्नेरीहरु हावा खाँदै थिए । शनिवार भएकोले प्रहरी विट नजिकै चटपटे बेच्ने र खानेहरुको पनि घुईचो थियो ।
परीक्षाफल भख्खरै मात्र आएकोले स्कुल जान नपर्ने हुँदा धेरै विद्यार्थीहरु फेस बुक र टेलिभिजनमा झुम्मिएका थिए । लाग्थ्यो त्यहाँ केहि भएकै छैन, एउटा सामान्य जीवन चक्र चलिरहेको थियो तर दैवलाई त्यो मञ्जुर भएर प्रकृतिले पनि डाहा गरे जस्तै भयो।।।। शान्त साँगाचोक एक्कासि हल्लिन थाल्यो, जमिन गडगडाउन पुग्यो, घरहरु पिङ खेल्न थाले, काग, रुप्पी, भँगेरा जस्ता पंक्षि र गाई, भैसि, कुकुर लगायतका जनावरहरु अतालिन थाले ।
चारैतिर राम राम र शिव शिव, बचाउ बचाउ जस्ता भयानक त्रासका आवाजहरुले साँगाचोक गुन्जियो, केटाकेटीहरु कहालिए, धेरैको सातो नै उड्यो । तर पनि त्यो निस्टुरी भूकम्प थामिएन झण्डै एक मिनेट सम्म प्रलय मच्चाएर भूकम्प वीदा हुँदा साँगाचोक खण्डहरमा परिणत भैसकेको थियो । सैयौं घरहरु भत्किएका थिए, दर्जनौं घरहरुले घरवेटिलाई पुरिसकेका थिए । कतै बाजे, कतै बजै, कतै आमा, कतै बाबा, कतै छोरा, कतै छोरी, कतै श्रीमान् अनि कतै श्रीमतिले क्षणभरमै प्राणको आहुती दिएका थिए ।
बाँचेकाहरु पनि शरिरबाट ह्वालह्वाली रगतका धारा बगाउँदै सहयोगको याचना गरिरहेका थिए भने घर अनि टहराले थिचिएका अनि च्यापिएकाहरुको प्राण बचाउ बचाउ भन्दा भन्दै गुमेको थियो । रमाईलो त्यो सुन्दर पहाडी बस्ति साँगाचोक क्षण भरमै शोकमा डुब्यो, सपना जस्तो लाग्यो धेरैलाई तर त्यो सपना नभएर यथार्थमा तितो सत्य थियो जसलाई मानिस कहिल्यै सोच्न पनि सक्दैन ।
घरै पिच्छेका लाश र घाईतेले साँगाचोकको सातो लियो, कसले कसलाई कसरी कहाँ कहाँ गएर सहयोग गर्ने रु सोच्नै पनि नसकिने त्यो प्रलयको घडिमा जसले जे बुझे, जे आयो त्यो गरे, सक्नेले अरुलाई पनि लिएर भागे, नसक्ने एक्लै भागेर ज्यान जोगाए तर धेरैले त्यो महाभयंकर कालसँग एक्लै लडे तर सबैले काललाई जित्न सकेनन्, उसले जीतेकालाई उसैले लिएर गयो मात्र मुठो छाडेर । एकै छिनअघिको त्यो सुन्दर बस्तिलाई शोक र दुःखको पहाडले कहिल्यै उठ्न नसक्ने गरि गर्रलम्म थिच्यो ।
केहि समय सुनसान भयो त्यो बस्ति तर फेरी एउटा दहे धक्काले साँगाचोकबासीलाई तर्सायो एक पटक होईन, दुई पटक होईन बारम्वार कैयौं पटक सैयौं पटक
साँगाचोक गा।वि।स वडा नं।४ का स्थानिय वासिन्दा नकुल गिरीका अनुसार महाभूकम्पका कारण वडा नम्वर ४ मा मात्र ७० देखि ८० जनाको मृत्यु भएको छ भने साँगाचोकको ९ वटै वडामा ४ सय भन्दा धेरैले ज्यान गुमाएका छन् ।
साँगाचोक बजार क्षेत्रमा मात्र ६० जना भन्दा धेरै मनिस घाईते भएका छन् भने गा।वि।स भरीमा घाईते हुनेहरुको संख्या ७०० भन्दा बढि छ । त्यस्तै घर, गोठ र घर आसपास बाँधेका झण्डै ८० प्रतिशत घरपालुवा जनावरहरु पनि मारिएका छन् । घरले किचेका मानिसहरुको यत्तिन्जेल सम्म पनि उद्धार हुन सकेको छैन भने किचिएर मरेका जनावरहरु लाई झिक्न नसक्दा दुर्गन्ध फैलिएको छ भने त्यसले महामारीको भय हुन सक्ने समेत शंकेत गरेको छ ।
नकुल गिरीका अनुसार साँगावजार क्षेत्रमा रेशम श्रेष्ठ, धनराज गिरी, कृष्णबहादुर गिरी लगायतका परिवारले २÷२ जना सदस्यलाई गुमाएका छन् । त्यसरी नै नानीकान्त गिरी र बद्रीराज गिरीले क्रमश वर्ष ८ र १० का एक एक छोरीहरुलाई गुमाएका छन् ।
त्यस्तै सितराज गिरीकी ६० वर्षिया श्रीमतिले पनि यो संसारबाट विदा लिएकी छिन् भने बालकृष्ण गिरीले आमाको न्यानो काख सँधैका लागि गुमाएका छन् । यो सामान्य संख्याले मात्र साँगाचोकको प्रतिनिधित्व गर्न सक्दैन, कति मरे, कति घाईते भए, कति अझै जमिन मुनी छट्पटाई रहेका छन् त्यसको आधिकारीक संख्या प्राप्त गर्न अझै केहि दिन कुर्नुको विकल्प छैन ।
भूकम्प पछिको साँगाचोक र जनआक्रोश
भूकम्प पश्चात स्थितीलाई सामान्य तर्फ उन्मुख गर्नु कसैको पाईनको कुरो भएन । मोवाईका घण्टिहरु बज्न थाले, आफ्न्तमा के कसो छ सो बुुझ्न बाँचेकाहरु आतुर देखिए । रेडियो अनि टेलिभिजनमा भूकम्प सम्वन्धि आधिकारीक समाचारहरु आउन थाले । आकाशमा हेलिकोप्टरहरु उडेको देखियो ।
बारम्वारका त्रासादिपूर्ण भूकम्पका धक्काहरुसँग मुकाविला गर्दै स्थानिय बासिन्दाहरु आकाशमा उडेका हेलिकोप्टर कतै आफ्नै गाउँ ठाउँमा अवतरण होलान् र उद्धार अनि राहत पाईएला भन्ने आशामा बसिरहे तर आशा आज छैटौं दिनसम्म आईपुग्दा पनि आशामै सिमित रह्यो ।
मानिसहरु अरु निराश भए । न सरकार, न मन्त्री, न नेता नत तिनका प्रतिनिधि कोही कसैले पनि साँगाचोकलाई हेरेनन् । एकातिर अर्को प्रलयको भय, आफ्न्त गुमाउदाको पिडा, भत्भति पोलिरहेको घाउ, त्यसमा पनि भोको पेट अनि खुला आकाश मुनिको वासले उनीहरुलाई सताईरहेको छ । आशा छ मनकारी सहयोगी हातहरुको कक्षा ८ मा अध्ययन गर्ने संजिव कुमार तामाङ र सुजन गिरीलाई ।
सहयोगी हातहरु र राहत सामग्री नियन्त्रणको प्रयास
राष्ट्रिय विपत्तिको घो घडिमा केही सहयोगी हातहरु साँचाचोक तर्फ पनि बढेका छन् । अग्रज पत्रकार विजय कुमार पाण्डे, वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, युवा व्यवसायी दुर्गाबहादुर श्रेष्ठ मात्र नभएर छिमेकी मुलुक भारत, चीन र अन्तराष्ट्रिय रेडक्रसका प्रतिनिधिहरु पनि साँगाचोक पुगेका छन् ।
कसैले पाल त कसैले विष्कुट, चाउचाउ त कसैले नगद सहयोग गरेका छन भने कतिले गर्ने सोच पनि बनाएका छन् तर सरकारको उपस्थिती सून्य हुँदा साँगाचोकवासी निराश भएका छन् । नेपाल–चीन वाणिज्य मैत्री संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ भूकम्प पिडीत साँगाबासी र ठूलो सिरुवारी लगायतका बासिन्दाहरुलाई पाल तथा विभिन्न खाद्य सामग्रीहरु वितरण गर्न शनिवार त्यसतर्फ लाग्न गृह कार्यमा लागेको बताउछन् ।
काभ्रेपाल्चोक जिल्लाको दोलालघाट र ज्याम्दी गा।वि।स।तथा सिन्धुपाल्चोक जिल्लाको ठूलो सिरुवारी, भुम्लुटार, फलाँटे, सापिङ र साँगाचोक गा।वि।स का विभिन्न स्थानहरुको बुधवार सम्पन्न अवलोकन भ्रमण पश्चात यथासक्य छिटो राहत वितरण गर्ने योजना बनाईएको दुर्गाबहादुर श्रेष्ठले जानकारी दिएका हुन् । भजन गाउने ओठ भन्दा सहयोग गर्ने हातहरु महान हुन भन्ने कुरामा विश्वास राख्ने दुर्गाबहादुर श्रेष्ठ भूकम्प पिडीतलाई सके सम्म धेरै सहयोग गर्न कुनै कसुर बाँकि नराख्ने बताउँछन् ।
यसैबीच सिन्धुपाल्चोकको जलकेनीबाट चौतारा जान लागेको नेपाली सेनाको राहत बोकेका सवारी साधनलाई स्थानियवासीन्दाहरुले प्रवेशमा रोक लगाएका छन् । विदेशबाट ठूलो संख्यामा राहत आउँदा पनि आफुहरुले यतिवेला सम्म केहि पनि राहत सामग्री नपाएको भन्दै उनीहरुले सेना र प्रहरीको राहत बोकेका सवारी साधनहरुलाई प्रवेशमा रोक लगाएका हुन् ।
उनीहरुले जिल्लामा ठूलो संख्यामा जनधनको क्षति हुँदा पनि सरकार मुकदर्शक बनेको भन्दै विरोध जनाएका हुन् । भूकम्पमा पुरिएका शव समेत आफैले निकालेपछि मात्र सेना र प्रहरी आएको भन्दै उनीहरुले प्रवेशमा रोग लगाएको स्थानिय बासिन्दाहरु बताउछन् ।
बुधवार मध्यान्ह पनि नेपाली सेनाको राहत सामग्री बोकेका तीनवटा कन्टेनरलाई साँगाचोकका स्थानियवासीन्दाहरुले रोकेर राखेका थिए । स्थितीलाई नियन्त्रणमा लिन प्रहरी र सेनालाई पनि हम्मे हम्मे परेको थियो ।
प्रहरीसँगको घम्साघम्सि पछि स्थानियवासीहरुले गृहमन्त्री मुर्दावाद लगायतका नाराहरु लगाएका थिए । स्थानियवासी रेशम श्रेष्ठ, नकुल गिरी र धनराज गिरी आपतको यो घडिमा सुशिल कोईराला, बामदेव गौतम, झलनाथ खनाल, सुवास नेम्वाङ, पुष्पकमल दाहाल लगायतका नेताहरु काठमाडौंमै उघिरहेको बताउछन् । साथै उनीहरु काठमाडौंलाई मात्र नेपाल नदेख्न नेताहरुलाई आग्रह गर्छन ।
विनाश पछि महामारी फैलन सक्ने त्रास
भूकम्पले लडेका दर्जनौ घरहरुमा यतिवेला पुरिएर रहेका मानिसका शव तथा पशुहरु कुहिन थालेका छन् । जताततै दुर्गन्ध फैलन थालेको । खुला आकाशमुनीको वास र शौचालय तथा शुद्ध खाने पानीको अभावमा महामारी फैलन नसक्ला भन्न सकिन्न ।
त्यसैगरी शवहरुको अन्त्यष्टि गर्दा ख्याल विचार पुर्याउन सकिएन भने पनि वा अन्तिम संस्कार गर्दा खाडल खन्दा गहिरो पारिएन भने पनि जंगली जनावहरुले शव उधिन्दा रोगहरु फैलन सक्छन् । यी कुराहरुमा समेत विचार पुर्याउनु आवश्यक छ ।
नेपाल–चीन बाणिज्य मैत्री संघ र चीनको छ्वानु फर्निचर कम्पनी लिमिटेडले संयुक्त रुपमा दोलालघाटमा बुधवार चाउचाउ, विष्कुट, जुस लगायतका खाद्य सामग्री वितरणका क्रममा स्थानिय बासिन्दाहरुले पर्यटकीय क्षेत्र दोलालघाटको ईन्द्रवती र सुनकोशी नदीको संगम स्थलमा भूकम्पबाट मृत्यु भएका ३६ जना भन्दा बढि मानिसहरुको सव एक, दुई फिट भन्दा धेरै गाड्न नसकेकोले महामारी फैलन सक्ने भन्दै डोजर खोजेर शव व्यवस्थापन गर्न अनुरोध गरेका थिए ।
जे सकिन्छ, त्यहि सहयोग गरौं
भूकम्पको कालो चुकले सिंगो मुलुक पोतिएको यो विपतको घडिमा आफुसँग जे छ त्यहि बस्तुले पिडीतहरुको सेवा र सहयोग गर्नु हाम्रो कर्तव्य भएको छ । औषधी, नगद, खाद्यान्न, लत्ताकपडा लगायतका जुनसुकै चिजको सहयोग गर्न सके त्यसले पिडीत परिवारमा शान्त्वना मात्र मिल्दैन महान राष्ट्रिय एकताको पनि विकास हुनेछ र यस्ता विपत्तिसँग जुध्न हामीमा वल मिल्नेछ ।
त्यसैगरी विभिन्न मित्रदेशहरुले सहयोग स्वरुप पठाएका राहत सामग्री र आर्थिक सहयोग त्रिभुवन अन्राष्ट्रिय विमानस्थलमा मात्र नथुपारी जतीसक्दो चाँडो भूकम्प प्रभावित क्षेत्रमा पुर्याएर मुलुकमा सरकार रहेको आभाव गराउन र सरकार तथा राजनैतिक दलहरुप्रति जनताको विश्वास कायम राख्न सरकार र राजनीतिक दलका नेता तथा कार्यकर्ताले ढिलाई नगर्ने वेला भएको छ ।
















