विगत ९ वर्ष यता पहिलो पटक चीनीया राष्ट्रप्रमुखको औपचारीक भ्रमणका रुपमा राष्ट्रपति सि जिन पिङ विशेष विमान मार्फत रावल पिण्डिमा २० मार्चमा उत्रदा पाकिस्तानी राष्ट्रपति मोहम्मद हुसैन, नवाज सरीफ प्रधानमन्त्री सहित पाकिस्तानको उच्च अधिकारीहरुले भव्य स्वागत गरे । गत सेप्टेम्बरमै हुने भनिएको चीनीया राष्ट्रपतिको भ्रमण त्यतिखेर ईस्लामावादमा विरोध प्रदर्शन चलिरहेका कारण रोकिएको थियो । यो भ्रमणले चीन र पाकिस्तानबीचको ७५ वर्ष भन्दा लामो कुटनीतिक सम्बन्धलाई निकै उचाईमा पुर्याएको विष्लेषण ती देशका थिंक ट्याङकहरुले गरेका छन् । पाकिस्तान चीनमा माओत्सेतुङ नेतृत्वको कम्युनिष्ट पार्टीले सत्ता कब्जा गरे पछि बनेको नया चीनलाई मान्यता दिने पहिलो अरब मुलुक पनि हो । अहिले पाकिस्तानका लागि हतियार तथा सैन्य सहायता आपुर्ति गर्ने चीन पहिलो राष्ट्र हो । पाकिस्तान र क्युवाले मात्रै सन् १९८९ को तियानमेन प्रदर्शनका बेला चीनको समर्थन गरेको थियो । यो पृष्टभूमिमा बढेको दुवै देशबीचको सम्बन्ध र खास गरी सन् २०१३ मे मा चीनका प्रधानमन्त्री लि ख छ्याङको भ्रमणका बेला प्रस्तावित चाईना पाकिस्तान आर्थिक कोरीडोर ( सिपिईसी ) ले मूर्त रुप लिए पछि प्रगाढ बन्ने संकेत देखिएको छ । दुवै देशका बीच द्धट अरब डलरको आर्थिक करीडोर र उर्जा परियोजना सहित ५१ बुदे समझदारी पत्रमा हस्ताक्षर भए पछि भारतीय सञ्चारमाध्यमहरुमा त्यसलाई चीनले भारतलाई घेरेको , भारतको विरोध आदि शीर्षकमा विभिन्न टिप्पणी र विष्लेषणहरु भएका छन् । जसले गर्दा भारत चीन पाकिस्तान मात्र हैन समग्र दक्षिण एशिया भित्र हुने चीनीया गतिविधिको विपक्षमा देखिन पुगेको छ । आखिर भारत किन चीनको विरोध गर्छ त यस मामलामा ? के चीनको दक्षिण एशियाली छिमेकी मुलुकहरुसग‘को सम्बन्ध भारतका लागि खतराकै विषय हो त ? यस्ता प्रश्नहरुको अध्ययन अहिले अलि बढी भएको छ । कारण चीन र भारत भौगोलिक र जनसंख्या तथा आर्थिक वृद्धिको दृष्टिकोणबाट प्रतिस्पर्धी रहनु, दक्षिण एशियामा छिमेकीहरु साना साना हुनु र उनीहरुमाथि खास गरी भारतीय एजेन्सी हावी हुनु आदि । भलै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यसै वर्ष चीनको भ्रमणमा समेत जादै छन् ।
ईकोनोमिक करीडोर: ठूलो उपलव्धि
पाकिस्तानी संसदमा चीनीया राष्ट्रपतिको सम्बोधनको केही विषेश महत्व रहेको देखिन्छ । खास गरी अब पाकिस्तान पनि एशियाको बाघ बन्न सक्छ , पाकिस्तान र चीनको सम्बन्ध हिमाल भन्दा पनि उच्च , समुन्द्र भन्दा पनि गहिरो र मह भन्दा पनि गुलियो भन्ने अभिव्यक्ति सुनिए पछि यसले सञ्चारमाध्यमहरुमा ठूलो चर्चा पायो । यो भाषण त्यस्तो सम्झौता पछि आएको हो जुन सम्झौताले लागू भएर सम्पन्न भएमा चीन र पाकिस्तानका बीच मात्रै हैन दक्षिण , मध्य र पश्चिम एशिया र मध्यपूर्व हुदै अफ्रीका सम्म व्यापार तथा लगानीका लागि सुलभ र छोटो बाटो बन्न सक्छ । चीनको काशगर देखि पाकिस्तानको अरब सागरमा अवस्थित ग्वादर बन्दरगाह जोड्ने आर्थिक करीडोर झण्डै तीन हजार किलो मिटर लामो हुने छ । यसको कुल लगानी ४६ अर्व डलरको रहने छ । यस भित्र सिल्क रोड, रेल नेटवर्क, र पाईपलाईन विच्छ्याईने छ । उक्त रकम सन् २००२ यता अमेरीकाले हाल सम्म पाकिस्तानलाई दिएको सहयोग भन्दा दुई गुणाले बढी छ । यसले पाकिस्तानमा उर्जाको आवस्यकता समेत पूरा गर्ने विस्वास लिईएको छ । र यो परियोजना सन् २०२० सम्ममा सम्पन्न गर्ने भनिएको छ । बताईए अनुसार चीनले पाकिस्तानी उर्जा क्षेत्रमा ३७ अर्ब डलर लगानी गर्ने छ जसले १६ हजार ४ सय मेगावाट विजुली उत्पादन हन्छ ।
भारत किन त्रसित छ त ?
भारत चीनसग‘ प्रतिस्पर्धा गर्न चाहन्छ । उसको आफ्नै हिमालयन रेन्जमा चीनसग‘को सिमा विवाद पनि यथावत छ । यस्तोमा अहिले कुनै पनि मुलुक भारतका लागि सबै भन्दा आखाको तारो भएको छ भने त्यो हो पाकिस्तान । पाकिस्तान कुनै पनि अवस्थामा आफू भन्दा क्षमताशील भएको वा शक्तिशाली भएको देख्न भारत चाहदैन । कुनै पनि बेला युद्ध गर्नु पर्ने मानसिकतामा भारत रहने गरेको छ पाकिस्तानका विरुद्ध । यस्तोमा छिमेकी चीन पाकिस्तानको शक्तिशाली पार्टनरको रुपमा उभिदा भारतले आफूलाई कतैबाट असर गर्ने हो कि भन्ने चिन्ता गरेको देखिन्छ । भारतले अझ ग्वादर बन्दरगाहमा चीनले भविष्यमा नौसैनिक अड्डाको रुपमा प्रयोग गरेर आफ्नो लागि सामरिक खतरा पैदा गर्न सक्नेमा चिन्ता गरेको छ । साथै यो नाका खुल्दा चीनका लागि हर्मुज सहित अरबको खाडी सम्मको नाका खुल्ने र यसले रणनीतिक रुपमा भारतलाई वेफाईदा हुन सक्ने उनीहरुको आशकाको अर्को पाटो देखिन्छ । किनकि भारतले अधिक तेल पश्चिम एशियाबाट आयात गर्छ ।
अर्को कुरा सि जिन पिङले अफ्गानीस्तानमा शान्ति स्थापनाका लागि आव्हान गर्दै पाकिस्तानलाई यस कार्यमा सघाउन मात्र अपील गरेनन् पाकिस्तानले आतंकवाद विरुद्ध लडिरहेको लडाईको प्रशसा गरे र त्यसमा सहयोग गर्ने बचन समेत दिए । यसले अफ्गानिस्तानमा आफ्नो प्रभाव बढाउन चाहने भारतको कदममा पनि केही प्रभाव पर्न सक्छ भन्ने भारतको अर्को चिन्ता हुन सक्छ । यद्यपि चीनले पाकिस्तानलई भारतसग‘ पनि वार्ता गरेर सम्बन्ध सुधार्न सुझाव दिएको छ । पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार चीनले ग्वदार ईलाकामा आफ्नो कार्य शुरु गरीरहेको छ । द्धिपक्षीय सहयोग र विकास साझेदारी अन्तर्गत पाकिस्तानको बलुचिस्तान लगायतका विभिन्न क्षेत्रमा चलिरहेका परियोजनाहरुमा कार्यरत चीनीया मजदुरहरुको सुरक्षामा पाकिस्तानले प्राथमिकता दिदै अब सेना तैनाथ गर्ने बचन दिएको छ । यसले पाकिस्तान र चीनको मजबुत स्थिति रहेमा कास्मीर लगायतका मामलामा पाकिस्तान लाई झुकाउन सकिदैन भन्ने भारतको अर्को बुझाई हुन सक्छ ।
अर्को कुरा दक्षिण एशियाली छिमेकी मुलुकहरुमा चीनले सम्बन्ध केही परस्पर सुदृढ गर्दै लगेको छ , नेपालदेखि भुटान सम्म चीनका गतिविधिहरुबाट भारत चिन्तित हुने गरेको छ । यस अघि श्रींलकासग‘ बलियो देखिएको चीनको सम्बन्धका बीच भारतले अनेकौ प्रयास गरेर श्रंीलकामा चीनले बनाउन लागेको बन्दरगाहा बनाउन रोकाउन श्रीलकालाई दवाव दिएर बाध्य बनायो । यसले पनि श्रीलंकाको दक्षिण एशियामा हुने गतिविधिले भारत त्रसित बन्ने गरेको छ । भारत मात्रै नभएर अमेरीकाले समेत चीन र पाकिस्तानबीचको यस सम्झौतालाई चासोका साथ हेरेको देखिएको छ ।
विकल्प के छ त ?
भारत र चीनबीच एक खर्ब डलर बराबरको आर्थिक कारोबार छ । चीनीया लगानीका कारण भारतमा दशौं हजार रोजगारी सिर्जना भएको छ । चीनले पनि आफ्नो बजार भारतमा बनाएको छ । यसै कारण दुबै देश कुनै सामरीक युद्धको पक्षमा उभिन कठिन छ । यदी त्यसो भएमा दुवै देशले ठूलो मात्रामा क्षति पुर्याउनु पर्ने छ । तुलनात्मक अध्ययन गर्दा पनि आर्थिक शक्तिका रुपमा पनि चीन विश्वको दोस्रो स्थानमा रहेको छ भने भारत दशौं स्थानमा रहेको छ । यस्तो अवस्थामा भारतले चीनसग‘ प्रतिस्पर्धा गर्न खोजे पनि त्यो हालका लागि निकै कठिन छ तर असंभव भने हुदैन । एकातिर यो स्थितिले उनीहरुले हातेमालो गर्नु पर्ने अवस्था छ भने अर्कोतिर विश्वव्यापी नेतृत्व लिन अहिले चीनलाई दवाव बढ्न थालेको छ । यस्तोमा अहिले चीनको प्रतिस्पर्धी भारत नभएर अमेरीका हो । यो मानेमा अहिले भारतलाई अमेरीकाले परमाणु लगायतका सम्झौताहरु गरेर चीन विरुद्ध उतार्न प्रयत्न गर्दै आएको छ । यद्यपि भारत यस मामलामा सचेततापूर्वक अघि बढेको छ । त्यसैले अब दक्षिण एशियाका ठूला छिमेकीहरु चीन र भारतबीच सहकार्यका साथ क्षेत्रीय विकास र विश्वव्यापी मञ्चमा सहकार्य हुनु आवस्यक छ । यसका लागि सार्कमा चीनलाई प्रवेश गराउन भारतले दिल खुल्ला गर्नु पर्छ भने ब्रिक्स लगायत अन्य एशियाली फोरममा भारतलाई साथ दिन चीन तयार हुनु पर्छ । भारतले सुधार्नु पर्ने पक्ष भनेको छिमेकीहरुसग‘ चीनले गर्ने साझेदारीबाट आत्तिने हैन अझ सहयोग गरेर उनीहरुलाई समेत माथि उठाउन प्रयत्न गर्नु हो । त्यसैले पाकिस्तान र चीनको सम्बन्धबाट भारतले टाउको दुखाउने हैन त्यतिकै सुमधुर सम्बन्ध बनाउन लाग्नु आवस्यक छ ।