काठमाडौ, १२ वैशाख । पृथ्वी राजमार्ग अन्तरगत धादिङको पिडा गाविस २ गलौडमा गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने थप ७ जना घाइते भएका छन् ।
काठमाडौबाट झापाको लागि छुटेको ना ४ ख ७२ ९७ नम्बरको यात्रु बाहक बस र पूर्वबाट काठमाडौं तर्फ आउँदै गरेको ना ५ ख ४४ ७२ नम्बरको ट्रक आपसमा ठोक्किदा मोरङ डाँगीहाट ५ का २३ वर्षीय विवश राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारका क्रममा आज बिहान ६ बजे काठमाडौको मेगा अस्पतालमा निधन भएको हो ।
दुर्घटना परी घाइते हुनेमा झापा सुरुङ ४ का अर्जुन विक , दमक ५ का विवश तामाङ, दमक २ का विकास काफ्ले , पाँचथर फिदिम सुहाङ ९ का नेत्रसेवा लिम्बु , झापा धरमपूर ९ का इन्द्र बहादुर दर्जी र निर्मला दर्जी रहेका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्तजनक रहेको छ । घाइते सबैलाई उपचारका लागि काठमाडौ ल्याइएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।