काठमाडौँ, २ वैशाख ।
नर्वेले नेपालको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको जलविद्युत् क्षेत्रको विकासमा लगानी वृद्धि गर्ने चाहना व्यक्त गरेको छ ।
नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका नर्वेका विदेश राज्यमन्त्री मोर्टेन हगलन्डले परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसँग आज परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा त्यस्तो चाहना व्यक्त गरेका छन् ।
आफूसँगको भेटमा नर्वेले नेपालको लोकतन्त्र, सुशासन प्रवद्र्धन, शिक्षा र विकासका निम्ति विशेष चासो राखेको मन्त्री पाण्डेले राससलाई जानकारी दिए ।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा आफ्नो मुलुकले उम्मेदवारी दिन लागेको जानकारी गराउँदै त्यसमा नेपालको सहयोग र समर्थन आफूले अपेक्षा गरेको राज्यमन्त्री हगलन्डले बताउनुभएको मन्त्री पाण्डेले बताए ।
नेपाल र नर्वेबीच सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता नर्वेले नेपालको सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गर्दै आएको छ ।
नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताअनुसार आधारभूत प्राथमिक शिक्षा, जलविद्युत्, ऊर्जा, मानवअधिकार, विकेन्द्रीकरण, शान्ति स्थापना, सुशासन, निजी क्षेत्रको विकासमा केन्द्रित रहेर नर्वेले सहयोग गर्दै आएको छ ।
नर्वेली सहयोग ग्रामीण विद्युतीकरणमा पनि उल्लेख्यरुपमा उपयोग भएको छ । नर्वेली अन्तर्राष्ट्रिय सहयोग नियोग (नोराड) मार्फत पनि नर्वेले नेपालको विकास प्रयासमा सघाउँदै आएको छ ।
नोराडले दक्ष जनशक्ति उत्पादनका निम्ति विभिन्न समयमा छात्रवृत्ति प्रदान गर्दै आएको छ । शान्ति कोषमा नर्वेले तीन करोडभन्दा बढी नर्वेजियन क्रोनर उपलब्ध गराएको छ ।
भेटमा नेपालका लागि नर्वेका राजदूत चेल टोर्मोड पिटरसेन र यहाँस्थित नर्वेली दूतावासका उच्च अधिकारीहरुको उपस्थितति रहेको थियो ।