काभ्रेपलाञ्चोक, १ बैशाख ।
वि सं २०७२ साल सुरु भएको आज पहिलो दिन, नयाँ वर्ष मनाउनेहरुले काभ्रेको पर्यटकीय स्थलहरु भरिएका छन् ।
राजधानी काठमाडौं उपत्यकाका साथै, छिमेकी जिल्लाका विभिन्न सङ्घसंस्था, समूहहरु नयाँ वर्ष मनाउन काभ्रे आइपुगेका छन् ।
राजधानीबाट नजिक काभ्रेको सदरमुकाम धुलिखेलस्थित फिक्निक पार्क, देविस्थान डाँडा, हजार सिडी, पनौतीको त्रिवेणीघाट, नमोबुद्ध, दोलालघाट, पलाञ्चोक, नगरकोट, भकुण्डे, नौबिसेलगायत सुनसान तथा पर्यटकीय स्थलहरुमा वनभोज र विभिन्न साँस्कृतिक कार्यक्रम गरी नयाँ बर्ष मनाउनेहरुको चहलपहल विहानै देखि देखिएको छ ।
नयाँ वर्षको पूर्वसन्ध्यामा सोमबार बेलुका धुलिखेल गुञ्जयमान बनेको थियो । धुलिखेलमा रहेका ठूला होटलहरुमा भेला भएका आन्तरिक तथा बाह्य पयर्टकहरुले रमाइलो गरी २०७१ सालको बिदाई र नयाँ वर्ष २०७२ सालको स्वागत गरेका छन् ।
राति अबेरसम्म पनि धुलिखेल संगीतमय बनेको थियो । नयाँ वर्षमा विभिन्न ठाउँबाट मानिसहरुको उपस्थिति धुलिखेलमा धेरै हुने र अप्रिय घटना हुन सक्ने भन्दै प्रहरीले आफ्नो सक्रियता अघिल्लो दिनको तुलनामा निकै बढाएको छ ।