काठमाडौँ, १० मङ्सिर । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। अर्याल पक्राउ परेको पुष्टि गृह मन्त्रालय स्रोतले गरेको छ।
मलेसियामा कामदार पठाउने क्रममा अवैध रूपमा रकम संकलन गरी उक्त रकम मलेसिया पठाएको आरोपमा अर्याल पक्राउ परेका हुन्। प्रहरीका अनुसार अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवका रूपमा कार्यरत रहँदा श्रमिकबाट असुल गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप छ। यस प्रकरणमा अर्यालविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो।
गृह मन्त्रालय स्रोतले अर्याल पक्राउ परेको सत्य भएको जनाउँदै यसबारे थप विवरण पछि सार्वजनिक हुने बताएको छ। अर्याललाई प्रहरीले भारतबाट पक्राउ गरेको जनाइएको छ भने पक्राउको स्थान र समयबारे औपचारिक विवरण आउन बाँकी छ।
मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा तोकिएको शुल्कभन्दा बढी अतिरिक्त रकम असुली गरी त्यसको ठूलो हिस्सा मलेसिया पठाइएको आरोपमा यो अनुसन्धान अघि बढाइएको हो। प्रहरीका अनुसार मलेसिया पठाउने भन्दै गैरकानुनी रूपमा संकलित १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ पठाउने निर्णयमा संलग्नता देखिएपछि अनुसन्धानको दायरा उच्च प्रशासनिक तहसम्म पुगेको छ।
यसअघि सोही प्रकरणमा तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवर तथा तत्कालीन श्रम सचिव विनोद केसीसहित १० जना पक्राउ परिसकेका छन्। पक्राउ परेकाहरूविरुद्ध ठगी तथा संगठित अपराधको कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान जारी राखेको छ।