विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला, उदयपुरमा कार्यरत प्रहरी निरीक्षक अस्वीन तोलाङ्गेलाई २०८३ साल कात्तिक महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ ।
विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र व्यावसायिकता प्रदर्शन गर्दै आफ्नो पदीय कर्तव्य वहन गर्ने क्रममा प्रहरी निरीक्षक तोलाङ्गेले विभिन्न महत्वपूर्ण घटनाको सफल अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाएका छन् । जिल्ला उदयपुर बेलका नगरपालिका वडा नम्बर ३ जगनास्थित गिदेरी खोलाको कासघारीमा १४ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गरी गर्भवती बनाई फरार रहेका प्रतिवादी समिर परियारलाई खोजतलाश गर्ने क्रममा फेला पारी पक्राउ गरी सफल अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
यसैगरी जिल्ला उदयपुर बेलका नगरपालिका वडा नम्बर ९ रामपुर बजारमा पैदल यात्री ५६ वर्षीया लक्ष्मीमाया राईलाई ठक्कर दिई मृत्यु भएको सवारी ज्यान मुद्दामा दुर्घटना गराई फरार रहेका बोलेरो गाडी र चालक प्रेमबहादुर बि.क. लाई पक्राउ गरी कानुनी दायरामा ल्याउन उनी सफल भएका छन् ।
त्यसैगरी जिल्ला उदयपुर बेलका नगरपालिका वडा नम्बर ७ स्थित पित्लाङ जङ्गलबाट बेवारिसे अवस्थामा लुकाई छिपाई राखिएको २ हजार ८ सय २० दशमलव ५० केजी लागू औषध गाँजा फेला पारी बरामद गरिएको छ । सोही स्थानमा अन्दाजी ६ रोपनी क्षेत्रफलमा रहेको २ हजार २ सय बोट गाँजा फडानी गरी नष्ट गर्ने समेतको सम्पूर्ण प्रक्रियागत कार्य अनुशासित, व्यावसायिक र कर्तव्यनिष्ठ तवरले उच्च मनोबलका साथ सम्पन्न गरिएको छ । सफल अपराध अनुसन्धान र लागू औषध नियन्त्रणमा अनुकरणीय योगदान गरी प्रहरी संगठनको गरिमा एवं श्रीवृद्धिका लागि उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा उनको कार्यको उच्च मूल्याङ्कन गर्दै २०८३ साल कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको कार्यालयले जनाएको छ ।