कुवेतमा ड्रोन आक्रमण, इरान र अमेरिकाबीच पुनः सैन्य झडप

कुवेतमा ड्रोन आक्रमण, इरान र अमेरिकाबीच पुनः सैन्य झडप

  • बुधबार, मंसिर २, २०८३
  • मिर्मिरे अनलाइन

  • 19
    SHARES

काठमाडौं । मध्यपूर्वमा अमेरिका र इरानबीच जारी सैन्य तनाव थप चर्किएको छ। इरान र अमेरिकाले एकअर्काका सैन्य संरचनालाई लक्षित गरी आक्रमण गरिरहेका बेला कुवेतले पनि आफ्नो देशमा ड्रोन आक्रमण भएको जनाएको छ।

कुवेतको सेनाले मंगलबार राति देशमा शत्रुतापूर्ण ड्रोन आक्रमण भइरहेको जानकारी दिँदै आफ्नो हवाई प्रतिरक्षा प्रणालीले त्यसको प्रतिकार गरिरहेको जनाएको छ। सेनाले सर्वसाधारणलाई सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ। यद्यपि, आक्रमण कहाँबाट भएको हो भन्नेबारे कुवेतले खुलाएको छैन।

यसैबीच, अमेरिकाले इरानको दक्षिणी क्षेत्रमा पर्ने होर्मुज जलडमरूमध्यस्थित क्वेसम टापुमा आक्रमण गरेको छ। इरानले बहराइनस्थित अमेरिकी सैन्य अड्डामा रहेको राडार प्रणालीलाई लक्षित गरी ड्रोन हमला गरेपछि अमेरिकाले जवाफी कारबाही गरेको हो।

इरानको सरकारी समाचार संस्था इरनाका अनुसार क्वेसम टापुमा अमेरिकी आक्रमणका क्रममा पाँचदेखि छवटा विस्फोट भएका थिए। इरानको होर्मोजगान प्रान्तका उपगभर्नर अहमद नफिसीले आक्रमणबाट आवासीय, व्यावसायिक तथा पूर्वाधार क्षेत्रमा कुनै क्षति नभएको दाबी गरेका छन्। उनले अवस्था नियन्त्रणमा रहेको र उद्धार तथा राहत निकायलाई सतर्क अवस्थामा राखिएको बताएका छन्।

अमेरिकी अधिकारीले अलजजिरासँग कुरा गर्दै क्वेसम टापुस्थित क्षेप्यास्त्र प्रक्षेपण केन्द्रलाई लक्षित गरी आक्रमण गरिएको बताएका छन्। बहराइनमा रहेको अमेरिकी सैन्य संरचनामाथि इरानले गरेको हमलाको जवाफस्वरूप उक्त कारबाही गरिएको उनको भनाइ छ।

बहराइनस्थित अमेरिकी सैन्य अड्डामा इरानको ड्रोन हमला

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले बहराइनको शेख इसा हवाई सैन्य अड्डामा रहेको अमेरिकाद्वारा सञ्चालित राडार प्रणालीलाई लक्षित गरी ड्रोन आक्रमण गरेको जनाएको छ।

इरानले आफ्नो हवाई क्षेत्रमा अमेरिकी सैन्य ड्रोनले पटक–पटक उल्लङ्घन गरेको आरोप लगाउँदै त्यसको जवाफमा लक्षित कारबाही गरिएको दाबी गरेको छ।

अमेरिकी सेनाको केन्द्रीय कमान्डले बहराइनस्थित अमेरिकी राडार प्रणालीलाई लक्षित गरी आएका इरानी ड्रोनलाई बीचमै निष्क्रिय पारिएको र अमेरिकी उपकरण तथा सैनिकमा कुनै क्षति नभएको जनाएको छ।

अमेरिकी नौसेनाको पाँचौँ फ्लीटको मुख्य आधार रहेको बहराइनले पनि आफ्नो हवाई प्रतिरक्षा प्रणालीले आक्रमण विफल पारेको जनाएको छ। राजधानी मनामामा विस्फोटका आवाजसमेत सुनिएको समाचारमा उल्लेख छ।

पछिल्लो पाँच दिनमा बहराइनमाथि इरानले गरेको यो तेस्रो ड्रोन आक्रमण हो।

होर्मुज जलडमरूमध्यमा तेल ट्यांकरमाथि आक्रमण

यसैबीच, इरानको सेनाले मंगलबार होर्मुज जलडमरूमध्य पार गर्ने क्रममा तीनवटा तेल ट्यांकर समुद्री बारुदी सुरुङमा परेर प्रभावित भएको दाबी गरेको छ। अमेरिकी सेनाले भने उक्त जलमार्गका प्रमुख मार्गहरू बारुदी सुरुङबाट मुक्त गराएको जनाएको छ।

फेब्रुअरी २८ देखि सुरु भएको युद्धपछि इरानले विश्वको करिब पाँच भागको एक भाग तेल आपूर्ति हुने महत्त्वपूर्ण समुद्री मार्ग होर्मुज जलडमरूमध्यमा जहाज आवागमन नियन्त्रण गर्ने प्रयास गरिरहेको छ। इरानले आफूले अनुमति दिएका मार्ग मात्र प्रयोग गर्न जहाजहरूलाई आग्रह गर्दै आएको छ। यसको जवाफमा अमेरिकाले इरानी बन्दरगाहमा नौसैनिक नाकाबन्दी गर्नुका साथै तेल ट्यांकरलाई सुरक्षा दिँदै आएको छ।

सोमबार ओमानको खसाब क्षेत्रबाट करिब सात समुद्री माइल उत्तरमा पानामाको झन्डा बोकेको ‘तारा ग्यास’ नामक ट्यांकरमाथि आक्रमण भएको थियो। त्यसबाट जहाजको इन्जिन कक्षमा आगलागी भएको थियो।

जहाजमा रहेका २५ जना चालक दलका सदस्य दोस्रो आक्रमणपछि जहाज छाडेर बाहिरिएको बताइएको छ। उनीहरूमध्ये एक भारतीय नागरिक बेपत्ता रहेको भारतका बन्दरगाहमन्त्रीले बताएका छन्।

त्यस्तै, पानामाकै झन्डा बोकेको अर्को ट्यांकर ‘अन फिनिक्स’ पनि ओमानको तटबाट केही दूरीमा अज्ञात वस्तुको प्रहारबाट प्रभावित भएको छ।

कूटनीतिक प्रयास पनि जारी

सैन्य तनाव बढिरहेका बेला इरान र ओमानबीच कूटनीतिक छलफल पनि जारी छ। इरानका विदेशमन्त्री अब्बास अराघची र ओमानका विदेशमन्त्री बद्र अल्बुसैदीले मस्कटमा भेट गरी समुद्री मार्गको सुरक्षा र कूटनीतिक समाधानका विकल्पबारे छलफल गरेका छन्।

यसैबीच, अमेरिकी विमानवाहक युद्धपोत ‘यूएसएस थियोडोर रुजवेल्ट’ सोमबार मध्यपूर्व क्षेत्रमा पुगेको छ। यो मध्यपूर्वमा परिचालन गरिएको अमेरिकाको तेस्रो विमानवाहक युद्धपोत हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीनका राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग त्रिपक्षीय शिखर वार्ता गर्ने कार्यक्रम रहेको छ। उक्त वार्तामा इरानसँग जारी युद्ध पनि छलफलको विषय बन्ने बताइएको छ।

युद्ध अन्त्यका लागि शान्ति सम्झौताको प्रयास भइरहे पनि पछिल्ला आक्रमणले मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ