काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलो जित दर्ता गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिमले जितको खाता खोलेको हो।
पोखराले दिएको १४६ रनको विजयी लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेट गुमाउँदै प्राप्त गर्यो।
सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट अर्धशतकीय पारी खेले। उनले ३६ बलमा ४ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ५१ रनको अविजित योगदान दिए। कप्तान दीपेन्द्रले चौथो विकेटका लागि इशान पाण्डेसँग ७४ रनको निर्णायक साझेदारी गरेका थिए। इशानले ३७ रन बनाए।
यस्तै, ओपनर सैफ जैब १५ र विनोद भण्डारी ४ रनमा आउट भए भने सेरफान रुदरफोर्ड ८ रनमा अविजित रहे। पोखराका लागि धनञ्जय लक्सन, मेहेदी हसन र शकिब अल हसनले १-१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रन बनाएको थियो। पोखराका लागि विकेटकिपर ब्याटर अर्जुन घर्ती मगरले सर्वाधिक ४० रनको अविजित पारी खेले। उनले २५ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
यस्तै, कप्तान कुशल भुर्तेलले २१, मेहेदी हसनले २१ तथा शकिब अल हसनले १४ रन जोडे। धनञ्जय लक्सन ११ रनमा आउट हुँदा विपिन खत्री ५ रनमा अविजित रहे। ओपनर दिनेश खरेल ४ रनमै पेभेलियन फर्किएका थिए।
सुदूरपश्चिमका लागि अनिल खरेलले सर्वाधिक ३ विकेट लिए। यस्तै हेमन्त धामी, स्कट कुगेलेइन र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे।
पहिलो खेलमा लुम्बिनी लायन्ससँग ८७ रनमा अलआउट हुँदै ७ विकेटको हार व्यहोरेको सुदूरपश्चिमले दोस्रो खेलमा भने शानदार कमब्याक गरेको हो। अर्कोतर्फ, पोखराको भने यो पहिलो खेल थियो।
बिहीबार दुई खेल हुने
प्रतियोगिता अन्तर्गत बिहीबार दुई खेल (डबल हेडर) हुनेछन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमने-सामने हुनेछन्। जनकपुरको यो दोस्रो खेल हो भने काठमाडौंको पहिलो। जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो।
यस्तै, बिहीबारको दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ। पहिलो खेलमा कर्णालीले जनकपुरलाई हराएको थियो भने विराटनगर चितवन राइनोजसँग पराजित भएको थियो।