काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको प्रतिस्पर्धात्मक खेलमा चितवन राइनोजले राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्ग्सलाई ८ रनले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १५८ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै समेटिन पुग्यो।
विराटनगरका लागि इमरान शेखले सर्वाधिक ३९ रनको योगदान दिए भने लोकेश बमले २६ रन बनाए। अन्तिम समयतिर विस्फोटक ब्याटिङ गर्दै जितको आशा दिलाएका आन्द्रे रसेलले १७ बलमा ३३ रन जोडे पनि टोलीलाई जितसम्म पुर्याउन सकेनन्।
चितवनको जितमा बलिङतर्फ कमल ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ४ विकेट लिए। त्यस्तै, रिजन ढकालले २ विकेट हात पारे भने टम टेलर, रञ्जित कुमार, दान माउजली र मौसुम ढकालले समान १–१ विकेट लिँदै विराटनगरको ब्याटिङ लाइनअपलाई ध्वस्त पारेका थिए।