अखिल नेपाल फुटबल संघ (एन्फा) को ललितपुरस्थित सातदोबाटोमा रहेको कार्यालय चार महिनापछि खुलेको छ। वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत कार्यसमिति सदस्यहरूले बुधबार कार्यालयको ताला खोलेका हुन्।
कार्यालय खुलेसँगै खड्काकै नेतृत्वमा भएको छलफलले यही कात्तिक १३ गते शनिबार केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ। वरिष्ठ उपाध्यक्ष खड्काका अनुसार छलफलमा उनीसहित विराटजंग शाही, दीपक खतिवडा, कुमार केसी, रुपेश अधिकारी, टीका लामा, भरत बुढा थापा, महेन्द्र क्षेत्री र मनिष जोशी गरी नौ जना सहभागी थिए।
खड्काले नेपाली फुटबललाई निकास दिन छलफल अघि बढाइएको बताए। उनका अनुसार कात्तिक १३ गते बस्ने बैठकमा मुख्यतः तहगत निर्वाचन र एन्फामाथिको निलम्बन फुकुवालगायतका विषयमा छलफल हुनेछ।
आफूहरूले अर्ली इलेक्सनको माग गरे पनि अध्यक्ष र महासचिवले केन्द्रीय निर्वाचनमा मात्र ध्यान दिँदा अहिलेको अवस्था सिर्जना भएको खड्काको दाबी छ। छलफलमा सहभागी सदस्यहरूले पनि अध्यक्ष र महासचिव एकलौटी ढंगले अघि बढ्दा एन्फामा समस्या उत्पन्न भएको बताएका थिए।
खड्काले शनिबार हुने कार्यसमितिको बैठकमा सबै सदस्यलाई सहभागी हुन आग्रह गरिएको जानकारी दिए। उनका अनुसार अध्यक्ष र महासचिव अनुपस्थित भए पनि एन्फाको विधानअनुसार बैठक बसेर अघि बढ्ने निर्णय भएको छ।
बुधबार एन्फा कम्प्लेक्समा भएको छलफलका विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र शिक्षा तथा खेलकुद मन्त्रालयलाई जानकारी गराउने निर्णयसमेत गरिएको छ। कात्तिक १३ गतेको बैठकबाट भएका निर्णयबारे राखेप, मन्त्रालय, एसियाली फुटबल महासंघ (एएफसी) र विश्व फुटबल महासंघ (फिफा) लाई पत्राचार गर्ने तयारी रहेको खड्काले बताए।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई विधानअनुसार कार्यसमिति बैठक बोलाउन लिखित माग गरिए पनि बैठक नबोलाइएपछि ताला खोलेर अघि बढ्ने निर्णय गरिएको उनीहरूको भनाइ छ।
यसैबीच, एन्फा अध्यक्ष नेम्वाङसहितका पदाधिकारीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खेल ठगीसम्बन्धी कसुरमा मुद्दा चलाएको छ।