भैरहवा : रुपन्देही प्रहरीले लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
लुम्बिनी बिकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारको निर्णयको विरोध गरेका कारण घरमा सुतिरहेको अवस्थामा मध्यरातमा प्रहरीले संयोजक खाँलाई पक्राउ गरेर लगेको महाअभियानका सहसंयोजक रामविकास चौधरीले बताए ।
महाअभियानले आफ्ना नेताहरूलाई बिनाशर्त मध्यरातमा पक्राउ गरिएको घटनाप्रति घोर आपत्ति जनाउँदै सरकारको यो कदमको कडा शब्दमा भर्त्सना गरेको छ। साथै पक्राउ गरिएका संयोजक खाँसहितका दुवै जनालाई अविलम्ब र निःशर्त रिहा गर्न महाअभियानले माग गरेको छ।
उपाध्यक्ष पदमा डोल्माको नियुक्तिसँगै उनको नागरिकताको वैधानिकता, वित्तीय पारदर्शिता र नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै महाअभियानले विभिन्न चरणबद्ध विरोध कार्यक्रमहरू गर्दै आएको थियो।