अर्थमन्त्री वाग्लेको अभिव्यक्तिमा राजेश हमालको आपत्ति, भने– ‘चाकरीपूर्ण व्यवहारले नेपालको स्वाभिमान कमजोर बनाउँछ’

अर्थमन्त्री वाग्लेको अभिव्यक्तिमा राजेश हमालको आपत्ति, भने– ‘चाकरीपूर्ण व्यवहारले नेपालको स्वाभिमान कमजोर बनाउँछ’

  • सोमवार, कार्तिक ९, २०८३
  • मिर्मिरे अनलाइन

  • 608
    SHARES

काठमाडौं । नेपाली चलचित्रका अभिनेता राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत सम्बन्धबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनले अर्थमन्त्रीको अभिव्यक्ति मन्त्रीस्तरीय जिम्मेवारीको सीमाभन्दा बाहिर गएको टिप्पणी गर्दै त्यसले नेपालको परराष्ट्र नीतिको आधार र राष्ट्रिय स्वाभिमानमा असर पार्न सक्ने बताएका छन्।

हमालले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेपालले लामो समयदेखि अवलम्बन गर्दै आएको सिद्धान्तमा आधारित परराष्ट्र नीतिको मर्यादा कायम राख्नुपर्नेमा जोड दिएका छन्।

‘यस्तो चाकरीपूर्ण व्यवहारले नेपालको सार्वभौमसत्ताको गरिमालाई कमजोर बनाउनुका साथै नेपाल र भारत दुवै देशले उच्च सम्मानका साथ कायम राख्दै आएको दीर्घकालीन सम्बन्धको उपहाससमेत गर्छ,’ हमालले लेखेका छन्।

उनले नेपालको परराष्ट्र नीति राष्ट्रिय सार्वभौमसत्ता, स्वाभिमान र चिरस्थायी सिद्धान्तमा आधारित हुनुपर्ने उल्लेख गर्दै कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्तिको व्यक्तिगत धारणा वा राजनीतिक स्वार्थका कारण त्यसमा सम्झौता गर्न नहुने बताएका छन्।

नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, भौगोलिक र जनस्तरको सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै हमालले छिमेकीसँगको सम्बन्ध थप सुदृढ बनाउने प्रयासको स्वागत गर्नुपर्ने धारणा राखेका छन्। तर, त्यसका लागि नेपालको राष्ट्रिय हित र स्वाभिमानलाई कमजोर पार्न नहुने उनको भनाइ छ।

हमालले नेपाल–भारत सम्बन्धलाई व्यक्तिगत चाकरी वा सार्वजनिक उपहास निम्त्याउने अभिव्यक्तिमा सीमित गर्न नमिल्ने बताएका छन्। उनका अनुसार दुई देशबीचको सम्बन्ध महत्त्वपूर्ण र संवेदनशील भएकाले यसलाई कूटनीतिक विवेक, स्पष्टता र सन्तुलनका साथ अघि बढाउन आवश्यक छ।

उनले सीमा विवाद र आर्थिक निर्भरताजस्ता विषयलाई पनि ध्यानमा राख्दै सरकारले आफ्ना धारणा स्थापित कूटनीतिक माध्यम, प्रमाण र सौहार्दपूर्ण संवादमार्फत प्रस्तुत गर्नुपर्ने बताएका छन्। आक्रामक अभिव्यक्ति वा खोक्रा आश्वासनभन्दा जिम्मेवार कूटनीतिक पहल महत्त्वपूर्ण हुने उनको धारणा छ।

अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग समाप्त भएको बताएका थिए।

‘कुनै समय राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने गरिन्थ्यो, तर अहिले त्यो युग सकिएको छ,’ वाग्लेले भनेका थिए। उनले नेपाल र भारतबीचको सम्बन्ध गहिरो रहेको तथा दुवै देश एकअर्कासँग दृढ रूपमा जोडिएको पनि बताएका थिए।

वाग्लेको यही अभिव्यक्तिप्रति प्रतिक्रिया जनाउँदै हमालले छिमेकी राष्ट्रसँगको मित्रता र नेपालको सार्वभौमसत्ताप्रतिको निष्ठा एकअर्काका प्रतिस्पर्धी उद्देश्य नभई पूरक जिम्मेवारी भएको उल्लेख गरेका छन्।

उनले नेपाल स्वतन्त्र राष्ट्रका रूपमा आफ्नो पहिचानप्रति आत्मविश्वास राख्दै र राष्ट्रिय हितबारे स्पष्ट रहँदै भरपर्दो साझेदार बन्न सक्ने बताएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ