काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज (सोमबार) देखि सुरु हुने नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण नेपाली, खेलाडी तथा आयोजकहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।
सामाजिक सञ्जालमार्फत एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री बालेनले छोटो समयमै एनपीएल नेपालको एक भव्य र विशिष्ट खेलकुद उत्सवका रूपमा स्थापित भइसकेको बताउनुभएको छ।
साथै, उहाँले यसपटकको एनपीएलमा सहभागी हुन नेपाल आइपुगेका विश्वचर्चित अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरू, विदेशी कमेन्टेटरहरू तथा प्राविधिक टोलीलाई नेपालमा हार्दिक स्वागत गर्नुभएको छ।
प्रधानमन्त्री बालेन शाहको शुभकामना सन्देश:
“नेपालको सबैभन्दा ठूलो खेलकुद इभेन्ट, नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरु हुँदैछ र यो केही वर्षमै एक ठूलो खेलकुद उत्सवको रूपमा विकसित भएको छ। लिगमा जोडिनुभएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडीहरू, कमेरेटरहरूलाई हार्दिक स्वागत छ र यो सुन्दर इभेन्टको लागि सम्पूर्ण नेपाली खेलाडीहरू, आयोजकहरू र क्यानलाई हार्दिक शुभकामना। नेपाली क्रिकेट सधैँ अमर रहोस्।”
क्यानको आयोजनामा आज काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे साविक विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको उद्घाटन खेलसँगै एनपीएलको तेस्रो संस्करणको औपचारिक सुरुवात हुँदैछ।